विदेशबाट फर्केका युवाहरु तरकारी खेतीमा आकर्षित : तरकारीमय ठोका गाउँ

लोकपथ
112
Shares

धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् ।

‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्षअघिसम्म विदेश जाने चक्करमा थिएँ’, काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु।’

आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ। अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । तरकारी बेचेर यो वर्ष ७ लाख  रूपैयाँ घर भित्रिने उनको अनुमान छ।

आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजनअनुसारको तरकारी बाली लगाउने गरेका छन् ।

केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले छ महिनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेको छ।

‘बिक्री नहुने सम्भावना नै छैन’, उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’

श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् ।

धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषिकर्ममा लाग्ने चलन बढ्न थालेको छ। तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् ।

युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ।

तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ। खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।

विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ। व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि आकर्षण बढेको हो।

छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।

रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकूल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए। रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ।

धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई ‘तरकारी पकेट क्षेत्र’ घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ।

धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् ।

‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ’, वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेललगायतका सामग्री वितरण भएको छ। यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ।’

ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ ।

किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?