यसरी हुँदैछ उपरदाङ्ग गढीमा ‘नालापानी’ छायांकन

काठमाडौं । नेपाली चलचित्र इतिहासमा इतिहासमाथि बनेका चलचित्र खासै छैनन् । लगानी, प्रविधि र सोचका हिसाबले यस्ता फिल्म निर्माण हुन सक्दैनन् ।

यतिबेला चलचित्र ‘नालापानी’ भने भटाभट छायांकनको क्रममा रहेको छ । ऐतिहासिक कथामा बन्ने यो फिल्मको अहिले चितवनको उपरदाङ गढीमा छायांकन गरिरहेको छ । एक हप्ताको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किने जनाएको छ ।

चितवनको पुरानो सदरमुकाम समेत रहेको यो किल्ला चितवनको उत्तरी भागमा छ, जुन गढीलाई पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले निर्माण गरेको बताइन्छ ।

पुरानो महत्त्व झल्काउने कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा लगायतका रहेका संरचनालाई चारैतिरबाट घेरिएको छ ।

फिल्मको कथाअनुसार यहीँ नै छायांकन गर्नुपर्ने भएकाले यहाँ छायांकन गर्न आएको निर्माता मनोज शाक्यले जनाए ।

फिल्ममा भीएफएक्सको प्रयोग हुनेछ भने नेपाल आर्मीले पनि निर्माण टिमलाई सहयोग गरिरहेको छ ।

अङ्ग्रेज सेना र वीर गोर्खाली सेनाले युद्ध लडेको कथामा निर्माण गरिएको यो फिल्म प्राचार्य रामराज कुँवर र प्रा. डा. धनबहादुर कुवँरद्वारा लिखित ऐतिहासिक पुस्तक वीर बलभद्र कुँवरमा आधारित रहेको छ ।

फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विजय विस्फोट, पूजना प्रधान, हिकमत थपलिया, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई रिमेश अधिकारी र कृष्ण आचार्यले फिल्मको कथामा ढालेका हुन् । रामशरण उप्रेतीले छायांकन गरिरहेको यो फिल्मलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् ।

चलचित्र पद्धाकुमारी फिल्म प्रालि र गंगानारायण फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?