विश्वकप फुटबलको ज्वरोः नेपाली खेलाडी कसको पक्षमा ?

काठमाडौं । फिफा विश्वकप फुटवलको ज्वरोले विश्वलाई मात्र हैन नेपालमा रहेको फुटवलप्रेमी समर्थकलाई पनि तताएको छ ।

विश्वकप फुटबलमा नेपालले सहभागी हुने सुनौलो मौका नपाएपनि सहभागी देशका टिमहरुलाई समर्थन र विरोधले यहाँको माहोल तात्ने गरेको छ । विश्वकप फुटबल नजिकिदै गर्दा नेपालमा पनि फुटबलप्रेमी उत्हासित बनिरहेका छन् । फुटबलप्रेमीले आफूलाई मन पर्ने टिमको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

राजनीतिक, सामाजिक क्षेत्रका व्यक्ति मात्रै नभएर खेलकुद क्षेत्रका व्यक्तिहरुसमेत विश्वकप फुटबललाई लिएर उत्साहित बनेका छन् । कतिपय खेलाडीहरुले त आफूले समर्थन गरेको टिमको जर्सी लगाएर सामाजिक सञ्जालमा फोटो समेत सार्वजनिक गरेका छन् ।

यसरी हेर्दा नेपालका खेलकुद क्षेत्रका ब्यक्तित्वलाई पनि विश्वकपको रौनकले छोपेको छ । 

हामीले आज नेपालका खेलाडी र खेलकुद पदाधिकारीलाई विश्वकपमा तपाई कुन टिमको समर्थक भनेर सोधेका थियौं ।

दिपक विष्ट, प्रशिक्षक तथा पुर्व तेक्वान्दो खेलाडी 

दक्षिण एसियाली खेलमा ४ स्वर्ण पदक जित्दै कीर्तिमान राखेका ओलम्पियन दिपक विष्टले आसन्न विश्वकपमा अर्जेन्टिनाको समर्थन गदैछन् । स्टार स्ट्राइकर लियोनल मेस्सीको विग फ्यान भएकोले पनि अर्जेन्टिनाको सपोर्टमा रहेको विष्टले बताए ।

क्लब फुटबलमा तहल्का पिटे पनि मेस्सीले यस पटक आफ्नो टिमलाई उपाधी दिलाएको हेर्न मन भएको विष्टले जानकारी दिए । सन् २००८ को बेजिङ ओलम्पिक्समा मेस्सीसँगको भेट र नेपाली खेलाडीप्रति उनले गरेको सम्मान अहिलेसम्म बिर्सिन नसकेको विष्टले बताए ।

विश्वकपमा अर्जेन्टिनाले टप ४ सम्मको यात्रा तय गर्ला भन्ने अनुमान रहेको दिपकले ब्राजिल, पोर्चुगल र स्पेन पनि उत्तिकै उपाधी दाबेदार रहेको बताए । 

भरत खबास, फुटबल खेलाडी

नेपाली फुटबल टिमका उपकप्तान भरत खवास यसपटक सुपरिचित टोली ब्राजिलको समर्थन गदैछन् ।

खबासले सन् १९९८ को विश्वकप देखि नै ब्राजिललाई समर्थन गर्न थालेका हुन् । सन् २००२ को विश्वकपमा भरत ब्राजिलको कटर समर्थक भएको बताए । खबासलाई ब्राजिल टोलीको टिमवार्क राम्रो भएकोले यसपटकको उपाधी पनि ब्राजिलले उपाधी जित्न सक्नेमा ढुक्क भएको खबासले बताए ।

ब्राजिलियन टिममा भने उनलाई नेइमार मन पर्छ । नेइमारले गोलका लागि गर्ने मिहिनेत राम्रो पक्ष भएको उनको भनाइ छ । भरतलाई रसिया विश्वकपमा ब्राजिल पछिको बलियो टिम फ्रान्स लागेको छ ।  

कमला पुन, भलिबल खेलाडी

म फुटबलको एकदम शौखिन हो । आफै भलिबल खेलाडी भएपनि फुटबल मलाई मनपर्छ ।  

विश्वकपको कुनै पनि गेम मिस गर्दिन । अर्को दिन रिपिट टेलिकास्ट हुेर्नुभन्दा पनि लाइभ नै हेर्न मज्जा लाग्छ । मैले पनि विश्वकपमा आफ्नो टिमलाई सपोट गर्न जर्सी किनेर लगाईसकेको पनि छु । 

काजीमान श्रेष्ठ, अध्यक्ष, नेपाल बुदोकैदो संघ

संघ र दैनिक खेल प्रशिक्षणको व्यवस्तताका वावजुद पनि फुटबल हेर्ने समय निकालिहाल्छु ।

म पहिलेदेखि अर्जेन्टिनाको फ्यान भएकाले विश्वकपमा मेरो जहिले सपोर्ट अर्जेन्टिनालाई जान्छ । लियोनल मेस्सी मलाई सबैभन्दा बढी मन पर्ने खेलाडी हो । अर्जेन्टिनाको टिमवर्क र एटाकिङ मलाई राम्रो लाग्छ । हेरौ यो पटकको विश्वकप कस्ले जित्छ । 

कोपिल जिसी, प्रशिक्षक राष्ट्रिय भलिबल

साथीभाइ र परिवारसित फुटबल म्याच हेर्ने गरेको छु । फाइनल नजिकिैँदै जाँदा चाहिँ झन् अलि चासो बढ्छ । मैले फाइनल गेम हुँदा वल्डकपको बेला त झन बाजी पनि लगाउने गरेका थियौँ ।

यो पटक यहि टिमको समर्थक भनेर त ठ्याक्कै भन्न सक्दिन । जर्मनी र स्पेन मन पर्छ । 

मन्डे श्रेष्ठ, कराते खेलाडी

राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकधारी कराते खेलाडी मन्डे श्रेष्ठ अर्जेन्टिनाका समर्थक हुन् ।

तर, उनलाई पनि खेलाडीमा मेस्सी नै मन पर्छन् ।  नेपालमा टेलिभिजनको सुरुवात भएको सन् १९८६ देखि विश्वकप हेर्न थालेका उनले म्याराडोनाको खेल मन परेर अर्जेन्टिनालाई समर्थन गर्न थालेको बताए । उनले अहिलेको विश्वकपमा पनि अर्जेन्टिना बलियो दावेदार रहेको भन्दै फाइनलमा पुग्ने विश्वास व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?