धनगढी । आज पुसको अन्तिम दिन । गाउँ–गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी औपचारिक रुपमा सुरु भएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् ।
पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरूको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रूपमा मनाइन्छ । माघ महिना लागेसँगै थारु संवत २६४४ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुनेछ ।
पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रही आएको छ ।
यति गरिसकेपछि मान्यजनहरूसँग आशीर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुललगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरू बताउँछन् ।
‘बिहानै नुहाएर आइसकेपछि उनीहरूको सम्मान स्वरूप डेउराहार (देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा)मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्नहरू राखिएको हुन्छ’, थारु नेता लाहुराम चौधरी भन्छन्, ‘त्यसलाई सबैभन्दा पहिले ३/३ वा ५/५ अञ्जुली सबै वस्तु अलग–अगल छुट्याउने गरिन्छ । यसरी छुट्याएको भागलाई हामीले निस्राउ भन्छौँ । त्यो भाग सके त्यही दिन नसके अन्य कुनै दिन हाम्रा विवाहित छोरीलाई उनकै घर गएर दिन्छौँ । यसले हाम्रो छोरी र माइतीबीच सद्भाव कायम हुन्छ ।’
थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै बिताउने गरेको छ । दिउँसोभरि आशीर्वाद थाप्ने र मीठोमसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ ।
माघ महिनासँगै नयाँ आर्थिक वर्ष सुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समीक्षासँगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी/चौकीदार)को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ । माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ ।
पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्धतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु नेता माधव चौधरीले बताए ।
थारुहरूको घरभित्र भने छोराछोरीको बिहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनी छलफल हुनेगरेको छ । विगतमा थारु समुदायमा रहेको कमैया/कमलरी राख्ने कुप्रथा पूर्ण रूपमा हटेको छ ।
भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यी विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान ।
थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यी सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरू काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसँग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।
प्रदेश सरकारद्वारा थप एक दिन बिदा
थारुहरूको महान पर्व माघीलाई लक्षित गर्दै प्रदेश सरकारले थप एक दिन प्रदेशभरि सार्वजनिक बिवदा दिने निर्णय गरेको छ ।
माघ १ गते शनिबार भएकाले ‘माघ २ गते (आइतबार) थप एक दिन माघी पर्वमा सुदूरपश्चिम प्रदेशभर’ सार्वजनिक बिदा दिइएको प्रदेश सरकारद्वारा जारी प्रदेश राजपत्रमा उल्लेख रहेको छ ।
प्रदेशमा थारु बाहुल्य क्षेत्र रहेको कैलाली र कञ्चनपुर जिल्ला हो । थारु समुदायले हरेक वर्ष माघी पर्वमा तीन दिन बिदाको माग गर्दै आइरहेका छन् । तर, प्रदेश सरकारले हरेक वर्ष एक दिन मात्र सार्वजनिक बिदा दिँदा सो समुदायमा रुष्टता रहेको छ ।
उनीहरूले पुष ३०, माघ १ र २ गते सार्वजिनक बिदा दिन माग गर्दै आइरहेका छन् । थारु नागरिक समाजका अगुवा दिलबहादुर चौधरीले सरकारले माघीमा एक दिन मात्रै बिदा दिएकोमा विरोध जनाउँदै आएका छन् ।
‘नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्ण रूपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको उनको भनाइ छ ।
चार स्थानीय तहले दिए तीन दिन बिदा
कैलालीका चार स्थानीय तहले माघी पर्वलाई लक्षित गरी तीन दिन बिदा घोषणा गरेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाले आफ्नो क्षेत्रमा तीन दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेका छन् ।
कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
यस्तै जानकी गाउँपालिकाले माघ ३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
‘पुस २८ गतेको निर्णयानुसार माघी पर्वको अवसरमा माघ ३ गते सार्वजनिक बिदा दिने निर्णय भएकोले सो दिन यस गाउँपालिकामा सार्वजनिक बिदा हुने व्यहोरा जानकारी गराइन्छ’, गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै जोशीपुर गाउँपालिकाले पनि माघ १ गतेदेखि ३ गतेसम्म स्थानीय सार्वजनिक बिदा दिने २१ गते बसेको कार्यपालिका बैठकबाट निर्णय गरेको थियो ।
यस्तै, घोडाघोडी नगरपालिकाले पुस ३० गते सार्वजनिक बिदा दिएको छ ।
‘पुस ३० गते माघीको उपलक्ष्यमा नगरपालिकाअन्तर्गत सबै कार्यालय, संघ, संस्था तथा शिक्षण संस्था एक दिन स्थानीय बिदा दिने निर्णय भएको’, नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माघ एक गते शनिबार र आइतबार प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा घोषणा गरेको छ ।
टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई माघीखर्च
टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई माघी खर्च वितरण गरिएको छ । थारु विद्यार्थी समाज र थरुहट/थारुवान् राष्ट्रिय मोर्चाले टीकापुर राजबन्दी परिवारलाई माघी खर्च वितरण गरेको जनाएको छ ।
माघी थारु समुदायको प्रमुख चाड हो । टीकापुर घटनामा जेलजीवन बिताइरहेका कैदीबन्दीका परिवारलाई माघ पर्व मनाउन सहज होस् भनेर खर्च वितरण गरिएको थरुहट थारुवान् संयुक्त संघर्ष समितिका प्रवक्ता माधव थारुले बताए ।
टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई तीन हजार रुपैयाँसहित स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । सो घटनामा संलग्न रहेको भन्दै कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य रेशम लाल चौधरीसहित सात जनालाई आजीवन काराबासको आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया