नबिलले गाभ्ने भयो नेपाल बंगलादेश बैंक

लोकपथ
104
Shares

काठमाडाैं । अन्ततः नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयरबराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्पmबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । बंगलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको सेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन ।

सो बैंकको सेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ ।

समझदारीसम्बन्धी जानकारी शुक्रबार नेपाल राष्ट्र बैंकलाई गराउने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बंगलादेश बैंक प्राप्ति गर्न लागेको हो ।

प्राप्त जानकारीअनुसार दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी २२ अर्ब ८३ करोड रूपैयाँबराबर पुग्नेछ । हाल नबिल बैंकको चुक्ता पुँजी रु १३ अर्ब ८४ करोड रहेको छ भने नेपाल बंगलादेश बैंकको रु नौ अर्ब चार करोड छ ।

गत आवको नाफाबाट नबिलले ३३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस आधारमा लाभांशपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रूपैयाँ पुग्नेछ ।

प्राप्तिपछि नबिल बैंकको निक्षेप तीन खर्ब नौ अर्बबराबर पुग्नेछ भने कर्जा दुई खर्ब ८८ अर्ब पुग्नेछ । हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटीएम १८५ वटा छन् ।

यस्तै नेपाल बंगलादेश बैंकको शाखा ९९ वटा र एटीएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?