सेल्फीका कारण पर्यटकको मृत्यु

पोचुर्गलमा सेल्फी खिच्ने क्रममा एक जोडी पर्यटकको मृत्यु भएको छ ।

उनीहरु पोर्चुगलको एक लोकप्रिय समुन्द्री किनार तर्फ फर्किएको एक पर्खाल माथि सेल्फी खिच्न लाग्दा असन्तुलित भएर लडेका थिए ।

पोर्चुगलको कोर्रेइओ दा मान्हा समाचारपत्रले ती जोडीको इरिसेइरा शहरको प्रेइया दोस पेस्कादोरेसमा मृत्यु भएको रिपोर्ट दिएको छ । पोर्चुगलको पश्चिमी भागमा रहेको यो समून्द्रि तट सुन्दर रिेसोर्टहरुका लागि चर्चित छ ।

राजधानी लिस्बन नजिक रहेको क्यासकेस बन्दरगाहमा उद्दार सेवाका प्रमुख रहेका रुई पेरेइया दा तेर्राले समाचार एजेन्सी लुसासँग बोल्दै ती महिला र पुरुष पर्खालमाथि बसेर सेल्फी खिचिरहेको हुन सक्ने अनुमान गरे ।

“हामीले पर्खालमा एक मोबाइल फोन भेटेका छौं । सबै कुराले पीडितहरुले सेल्फी लिदैं गरेको देखाएको छ , केही कारणले उनीहरुको फोन खसेको तर त्यसलाई टिप्नका लागि ढल्किँदा खसे,” उनले भने ।
रिपोर्टमा जोडिको नाम उल्लेख गरिएको छैन तर महिला ३० वर्षकी र पुरुष ४० रहेको उल्लेख छ । तथापी अन्य रिपोर्टहरुमा यो उमेर पनि थोरै थपघट देखिन्छ । 

उनीहरु ३० मिटरभन्दा तल खसेका थिए । समाचारपत्रको रिपोर्ट अनुसार जोडीको लास मंगलबार बिहानै समुन्द्री तट सफा गर्ने मानिसले भेटेका थिए ।
एक पीडित अष्ट्रेलियन हुन भने अष्ट्रेलियाका अधिकारीहरुका अनुसार अर्को व्यक्ति बेलायती हुन् । अष्ट्रेलियाली अधिकारीहरुले आफूहरुले उक्त व्यक्तिको विषयमा बेलायती विदेश कार्यालयसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?