६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका युवालाई जन्मकैदको फैसला

लोकपथ
221
Shares

रसुवा । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाइएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफ्नो घरको कोठामा लगी करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए ।
पीडितको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धानका पश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । प्राप्त प्रमाणहरूको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् ।

भट्टराईले मुलुकी संहिता २०७४ को दफा २१९ को उपदफा (१) र (२) र उपदफा (३) को देहाय (क) बमोजिम कसुर गरेको ठहरिएको जनाइएको छ । उक्त कसुर बापत प्रतिवादी भट्टराईलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को देहाय (क) बमोजिम जन्म कैदको फैसला गरिएको रसुवा अदालतले जनाएको छ ।

त्यसैगरि सोही संहिताको दफा २१९ को उपदफा (३) (क) को (यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ ) देहाय (क) बमोजिम प्रतिवादीलाई ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ । भने पीडितलाई सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्ति बापत ५० हजार भट्टराईने भएको छ । त्यसैगरि अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम प्रतिवादी भट्टराईले २८ सय कोषमा बुझाउनुपर्ने रसुवा जिल्ला अदालतले जनाएको छ ।

फैसलापछि सञ्चारकर्मीसँगको कुराकानीमा पीडित बालिकाको आमाले न्याय पाएको महसुस गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?