सुन तस्करीकाण्ड : अग्रवाल र शाक्य तस्करीका पार्टनर

काठमाडाैं, ३० जेठ- ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गर्न गठित समितिले राजेन्द्रकुमार शाक्य सञ्चालक रहेको आरके ज्वेलर्सले बैंकबाट खरिद गरेको सुनचाँदी तथा हिराको विवरणमाथि छानबिन थालेको छ । अाजकाे काराेबार दैनिकमा  खबर छ ।
दरवारमार्गस्थित आरके डायमन्ड र न्युरोड र विशालबजारमा रहेका आरके ज्वेलर्समा छापा मार्दा ३० करोड रुपैयाँभन्दा बढीका सुनचाँदी, हिरालगायतका गहना तथा नगद १५ लाख भेटिएपछि छानबिन समितिले पछिल्लो १० वर्षयता बैंकबाट किनेको गहनाको विवरणमाथि छानबिन थालेको हो । सोमबार समितिले तीनवटै ज्वेलर्समा छापा मारी करोडौं रुपैयाँ बराबरका नरगहना र १५ लाख भन्दा बढी नगद बरामद गरेको थियो । समितिले बरामद गहना तथा नगद बुधबार मोरङ जिल्ला अदालतमा पेश गर्ने छ ।
अनुसन्धान समितिले शाक्य र नेपालमा सुन तस्करका मुख्य नाइके भनिएका मोहनकुमार(एमके) अग्रवालको कनेक्सनमाथि पनि छानबिन अघि बढाएको छ । तस्करीबाट भित्र्याएको सुन एमके अग्रवालले शाक्य लगायत विभिन्न सुनचाँदी व्यवसायीलाई दिने गरेको अनुसन्धान समितिका एक सदस्यले बताए ।
“तस्करीबाट भित्र्याइएको सुन कारोबार एमके अग्रवाल, राजेन्द्र शाक्यलगायत व्यक्तिले पार्टरशीपमा लगानी गरेको देखिन्छ,” समितिले ती सदस्यले भने, “अब ३३ केजी सुन र सनम शाक्य हत्यामामात्रै यो अनुसन्धान सीमित हुँदैन, अपराधबाट सम्पत्ति आर्जन गर्ने व्यक्तिको कालोधनमाथि पनि छानबिन अघि बढिसकेको छ ।”
आरके ज्वेलर्सका सञ्चालक शाक्यको चलअचल सम्पत्तिमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?