सशस्त्रमा दुई डीआईजी पद खारेज

काठमाडौं–सरकारले सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी) को संख्या पनि घटाएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्रको डीआईजीको संख्या १८ बाट १६ मा झारेको हो ।

मन्त्रिपरिषद्को सोही बैठकले सशस्त्रको एआईजीको संख्या ६ बाट दुईमा झारेको थियो । सो बैठकले फाजिलमा रहेका पाँच एआईजीलाई फाजिलमै राख्ने र उनीहरूले अवकाश पाएपछि दरबन्दी स्वतः खारेज गर्ने निर्णयसमेत गरेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा एक र सातवटै प्रदेशमा सशस्त्र प्रहरीको बाहिनी स्थापना गर्ने निर्णयसमेत गरेको छ । हाल पाँचवटा प्रदेशमा मात्र सशस्त्रको बाहिनी छ । प्रदेश ३ र प्रदेश ५ मा भने सशस्त्रको बाहिनी छैन । सरकारले काठमाडौं उपत्यकाका लागि सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयलाई बाहिनीका रूप दिनेछ । यसअघि यो कार्यालय सशस्त्र प्रहरी बल महानगरीय कार्यालयका रूपमा चिनिन्थ्यो । एआईजी बस्ने यो कार्यालयको नेतृत्व अब डीआईजीले नै गर्नेछन् ।

सरकारको पछिल्लो निर्णयानुसार १६ डीआईजीमध्ये उपत्यका सुरक्षा कार्यालयमा एक जना र सातवटै प्रदशेमा एकएक जना गरी सात जना डीआईजी खटिनेछन् । यस्तै, आगामी दिनमा एकेडेमीको नेतृत्व पनि डीआईजीले नै गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?