किमसँगको भेटमा सोचेभन्दा बढि सफलता : ट्रम्प

सिङ्गापुर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग मंगलबार भएको शिखर सम्मेलनमा सोचेभन्दा बढि उपलब्धी हात परेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरेका छन् । 

सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध विस्तार, स्थायी शान्ति, युद्धबन्दीको खोजविन तथा रिहाइ लगायतका बिषयमा दुई नेताले प्रतिवद्धता जनाएका छन् । सहमतिको पहिलो बुँदामा दुई नेताले संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन् । 

त्यसैगरी संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायःद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने बिषय सहमतिको दोस्रो बुँदा रहेको छ । यी दुर्इ नेताले सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायःद्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता जाहेर गरेका छन् । 

अन्तिम बुँदामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउनेतर्फ पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?