खेलकूदमा महिला सहभागिता बढाइने

काठमाडौँ- युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले खेल क्षेत्रमा महिला सहभागिता वृद्धि भएमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् ।

राष्ट्रिय खेलकूद परिषद्ले आज आयोजना गरेको राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि विषयक अन्तरक्र्रिया कार्यक्रममा उनले खेल क्षेत्रमा महिलाको सहभागिताका लागि प्राथमिकता दिइने बताएका हुन् ।

मन्त्री विश्वकर्माले खेलकूदकै माध्यमबाट आपसमा तीतो सम्बन्धमा रहेका संयुक्त राज्य अमेरिका र उत्तर कोरियासमेत आपसमा शिखर वार्तामा आउन तयार भएको सन्दर्भ उल्लेख गर्दै उनले खेलको विकासबिना समाजको समग्र विकास नहुने बताए ।

परिषद्का सदस्य सकुन्तला नकर्मीले कानूनी र नीतिगतरुपमा खेल क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि कुनै समस्या नरहे पनि सामाजिक परिस्थिति र पुरातन संस्कारका कारण खेल क्षेत्रमा तुलनात्मकरुपमा महिलाको सहभागिता बढ्न नसकेको बताइन्।

परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले चालू आवमा शुरु भई आगामी वर्षमा पनि राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सो कार्यक्रमका लागि चालू आवमा रु एक करोड ४० लाख बजेट बिनियोजित गरिएको छ ।

परिषद्का सदस्य सकुन्तला नकर्मीले कानूनी र नीतिगतरुपमा खेल क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि कुनै समस्या नरहे पनि सामाजिक परिस्थिति र पुरातन संस्कारका कारण खेल क्षेत्रमा तुलनात्मकरुपमा महिलाको सहभागिता बढ्न नसकेको बताइन्।

नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक आरती चटौतले समाजमा महिलाले कडा र गाह्रो काम गर्नु हुन्न र उसलाई घरबाट बाहिर लानु हुँदैन भनिन्छ त्यही समाजमा महिला हिंसा हुने भएकाले महिलालाई खेल क्षेत्रमा लगाउन सकिए सामाजिक परिवर्तनमा योगदान पुग्ने बताइन् ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले बलात्कार हुनु मात्र महिला हिंसा नभएकाले परिषद्भित्रै लैङ्गिक समताको सोच र व्यवहार हुनुपर्ने बताउँदै हाल खेल क्षेत्रमा रहेका महिलाहरुले भोग्नुपरेका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?