सरकारको कार्यशैली र बजेटमा सन्तुष्ट हुने आधार छैन : रायमाझी

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेता रायमझीले भने,‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्ग्चित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन।’

रायमाझीले सरकारले समृद्धिको कुरा गरेपनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट नभएको सुनाए । उनले भने,‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन, तर म आशावादी छु।’ उनले पटक–पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर गरे ।

मुलुक यतिवेला संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेकोले विकार र समृद्धिको लागि अहिले सरकारसँग पर्याप्त बहुमत र उपयुक्त वातावरण रहेको उनको भनाई थियो । उनले भने,‘अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढि बहुमत छ, काम गर्न सक्ने वातावरण छ, सरकारलाई कुनै बाधा तथा अड्चन छैन्।’

फरक प्रसँगमा उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिए । उनले भने,‘यी दुई नेताहरुको वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ।’

यद्धपी नेता रायमाझीले अहिलेको विश्व अलिक बढि निरंकुशतातर्फ ढल्किरहेको पनि बताए ।

नेता रायमाझीले ट्रम्प र किमबीचको वार्ताको मुख्य सुरक्षामा गोरखा फौज खटिनु गौरवको विषय भएको बताए । उनले भने,‘यो नेपालीहरुलाई विश्वास गरिएको कुरा हो, हामी सबैको लागि खुशीको कुरो हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?