राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य

लोकपथ
156
Shares

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् ।

एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उनले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिएका छन् ।

एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताए । उनले प्रश्न गर्दै भने,‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो ?’

अध्यक्ष कुमार पन्त र आफू विवाद समाधान गर्नका लागि आन्तरिक छलफलमा रहेकै बेला एक्कासी सहमति भएको भनि प्रचार गरिएको भन्दै उनले केही स्वार्थी व्यक्तिहरुले संस्थालाई बिखण्डनतिर लैजाने दुस्प्रयास गरेको प्रतिक्रिया दिए । एनआरएनए सबै अभियन्ता संस्थाप्रति चिन्तित रहेको जानकारी दिँदै सल्लाहकार आचार्यले सहमतिको नाममा गरिएको कुप्रचारको बैधता नहुने जिकिर गरे ।

१० औं महाधिवेशनबाट नेतृत्व लिनका लागि दौडमा रहेका उमेदवारले प्रतिनिधि चयन गर्न अधिकार नभएको बताउँदै आचार्यले भने,‘जुन दिन राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएको प्रतिनिधि चयनले मान्यता पाउँछ त्यो दिन मात्रै निर्वाचन र महाधिवेशन हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?