पर्वतका ३०० महिलाको पाठेघर परीक्षण

फलेवास : पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ । 

ग्रामीण भेगका महिलालाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका हुन् । स्थानीय माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा महिलाको पाठेघरसम्बन्धी समस्याको पहिचान गरिनुका साथै उपचार गरिएको हो । 

शिविरमा चेकजाँचको क्रममा डेढ दर्जनभन्दा बढी महिलालाई शल्यक्रियाका लागि रिफर गरिएको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ । उक्त शिविरमा महिलाको पाठेघरको उपचार, औषधि वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो ।

शिविरको उद्घाटन गर्दै स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा टीकाकुमारी गुरुङले महिलालाई रोग लुकाएर एवं लाज मानेर नबस्न आग्रह गरिन्। संसारमा महिलाको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर दोस्रो ठूलो रोग रहेको भन्दै पाठेघरमा हुने क्यान्सरको समयमै उपचार गरेमा रोग निको हुने जानकारी गरार्इन् । 

प्रदेश नं ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा सञ्चालन भएको शिविरमा जलजला गाउँपालिकाको विभिन्न वडाका महिलाले सेवा लिएका थिए । गाउँमै निःशुल्करुपमा उपचार गर्न पाएपछि विपन्न, दलित तथा जनजाति समुदायका महिला हर्षित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?