गौरवका आयोजनाको काम सक्न एमालेको माग

लोकपथ
156
Shares

बागलुङ । नेकपा एमाले बागलुङले मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको स्तरवृद्धि तथा कालोपत्रेमा ढिलासुस्ती, हेलचक्राइँ र लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेको छ ।

जिल्लामा सञ्चालित गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नगर्दा जनताले सास्ती भोग्नु परेको निष्कर्षसहित एमाले नवौं जिल्ला अधिवेशनले काम गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्दै अधुरा काम पूरा गर्न सरकारसँग माग गरेको हो ।

अधिवेशन पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे खण्ड, सालझण्डी ढोरपाटन सडक कालिगण्डकी करिडोर राष्ट्रिय आयोजना भए पनि सम्बन्धित सडकका निर्माण व्यवसायी र सरकारी निकायको लापरबाहीको कारण काम समयमै सम्पन्न हुन सकेको निष्कर्ष निकालेको छ ।

पटक–पटक सरकारी निकायको ध्यानाकर्षण गर्दासमेत बेवास्ता गरी जिल्लावासीले सास्ती भोग्नु परेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै काममा ढिलासुस्ती र लापरबाही गर्ने सम्बन्धित निर्माण व्यवसायी र निकायलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन र निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउन माग प्रस्ताव पारित गरेको अध्यक्षमण्डलका अध्यक्ष तथा एमाले केन्द्रीय कमिटीका अध्यक्ष गोविन्द नेपालीले जानकारी दिए ।

राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको उत्तरगंगा जलसायुक्त परियोजना सम्भाव्यता अध्ययनको रिपोर्टको आधारमा अत्यन्त सस्तो र सम्भावना युक्त परियोजना भएको निष्कर्ष निकाल्दै उक्त क्षेत्रको विकास र समृद्धिका लागि महत्त्वपूर्ण परियोजना भएकाले काम तुरुन्त अघि बढाउन सरकारसँग माग गरेको छ ।

अधिवेशनले कोरोका महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनर्स्थापनाका प्याकेजहरू उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाएका फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरिबी र अभावको थप मार पर्न नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।

सिंगो पार्टी पङ्तीलाई कुनै पनि अन्योल र भ्रममा नपरी कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकबद्ध भएर अगाडी बढ्न आह्वान गर्दै विभिन्न कारणवश पार्टीबाहिर रहेको नेता कार्यकर्तालाई आफ्नो मूलघर फर्कन आह्वान गरेको जिल्ला कमिटी सचिव विष्णु भुसालले बताए ।

एमाले तीन महिने पार्टी प्रवेश तथा घरफर्क अभियानलाई पूर्ण सफल पार्न र निर्वाचनको तयारीमा जुट्नको लागि सिंगो पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?