कांग्रेसमा बाझिएको मत : देउवा गठबन्धनको पक्षमा, कोइराला एक्लै चुनाव लड्ने मुडमा

लोकपथ
18.9k
Shares

सुनसरी पुगेर कांग्रेस नेता डा. शेखर कोइरालाले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारे ।

नेता कोइरालाले भने, ‘अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिह्न रुखबाहेक अन्य चिह्नमा मत हाल्दैन । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सके निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको र पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

गठबन्धन गरेर चुनावमा राष्ट्रियसभामा होमिएको कांग्रेसभित्र स्थानीय तह, प्रदेश र संघीय तहमा एक्लै लड्ने कि गठबन्धन गरेर चनावमा जाने भन्नेमा मतभेद देखिएको छ ।

कांग्रेसले अघिल्लो स्थानीय तह, प्रदेश र संघमा एक सय ६५ संघीय तहमा २३ सिट, तीन सय ३० प्रादेशिक तहमा ४१ सिट, सात सय ५३ गाउँपालिका/नगरपालिकामा अध्यक्ष/प्रमुखमा एक सय ५ जना, उपाध्यक्ष/उपप्रमुखमा ८४ जना ६ हजार ७ सय ४३ वडाध्यक्षमा ४ हजार ४ सय २३ जना, ६ हजार ७ सय ४२ महिला वडा सदस्यमा २ हजार १ सय ५६ जना र ६ हजार ५ सय ७६ दलित महिला वडा सदस्यमा २ हजार १०१ जनाले जित हाँसिल गरेको थियाे ।

पार्टी सभापति शेरबहादुर देउवा आम निर्वाचनसम्म गठबन्धन गरेरै जानुपर्ने पक्षमा छन् । नेकपा माओवादी केन्द्रको पुस ११ गतेको उद्घाटन कार्यक्रममा उनले गठबन्धन तालमेल गरेर जानुपर्ने बताए । कांग्रेसको संस्थापन पक्ष गठबन्धन मिलेरै आम निर्वाचन लड्नुपर्ने पक्षमा छ ।

चुनावी गठबन्धन बन्ने/नबन्ने कुरा एमसीसीले पनि निर्धारण गर्छ । एमसीसीमा गठबन्दको समान धारणा रह्यो भने एउटा समिकरण बन्ने र फरक धारण भयो भने फरक किसिमको समीकरण बन्ने वा अर्लि इलेक्सनको सम्भावना छ ।

‘एमसीसीको बारेमा वर्तमान गठबन्दको समान धारणा बन्यो र पास भएर गयो भने आम चुनावसम्म गठबन्धन बन्ने सम्भावना बढी हुन्छ, यदि एमसीसीको बारेमा सरकार वा गठबन्धनको दृष्टिकोण विभाजित रह्यो भने त्यो सम्भावना त्यसै पनि कमजोर हुने भयो’, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन् ।

एमसीसीको विषयमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच एकमत छैन । यीमध्ये कम्युनिष्ट पार्टीहरुले एमसीसी यथास्थितिमा पास हुन नसक्ने बताएका छन् ।

कांग्रेस सभापति देउवाजस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना पनि गठबन्धन निरन्तर होस् भन्ने चाहान्छिन् ।

‘संविधानको रक्षार्थ कांग्रेसलाई सहयोग गर्दै अहिलको गठबन्धन बनेको हो । संविधानको रक्षार्थ यसलाई निरन्तरता दिनुपर्छ भन्ने भावना पनि पार्टीभित्र छ’, उनले भनिन् ।

निर्वाचनसम्म गठबन्धन रहे नरहे पनि कार्यगत एकता धेरै प्रकतिबाट गर्न सकिने उपाध्यायको भनाइ छ । विश्वासको वातावरण बनेर विश्वासको वातावरण बनेको छ ।

‘हिजोका दिनमा स्थानीय निर्वाचन प्रक्रियामा गठबन्धन थिएन चितवनमा माओवादी केन्द्रसँग गठबन्धन भयो अन्य जिल्ला भएन । एमाले र माओवादी, एमाले र कांग्रेसले पनि स्थानीय तहमा गठबन्धन गरेका उदारहरण अघिल्लो स्थानीय चुनावमा छ’, उपाध्यायले भनिन् ।

जिल्ला प्रदेश तहमा कसरी जाने भनेर रोडम्याप बनिनसके उनले बताइन् । तर इतरपक्ष भने कांग्रेस एक्लै जितको लागि योग्य रहेकाले एक्ले आम निर्वाचनमा होमिनुपर्ने बताउँछ । एमाले पनि विभाजित भएको र अन्य दलहरुको बलियो जनमत नभएकाले कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा कोइराला पक्षको जोड छ ।

‘आफ्नो खुट्टामा विश्वास नलागेर बैशाखी टेकेर दौडन खोजियो भने पहिलो त परै जाओस् तेस्रो हुन पनि गाह्रो हुन्छ । कांग्रेसले यो कुरा राम्ररी बुझेको छ’, कांग्रेस उपसभापति धनराज गुरुङले भने ।

महामन्त्री गगन थापा कांग्रेस महाधिवेशनको समयभन्दा अघिदेखि कांग्रेस एक्ले चुनावमा जानुपर्ने पक्षमा थिए ।

‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन भयो । निर्वाचनका लागि यो अन्तिम गठबन्धन हो । अब कांग्रेस चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन । एक्लै चुनाव लडेर बहुमत ल्याउने अनि देशको पहिलो पार्टी बन्ने हो’, थापाले भने ।

संस्थापन पक्षमा पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने आवाज उठेको छ । कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला आगामी निर्वाचनमा कांग्रेसले गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गर्न नहुने बताउँछिन् ।

‘गठबन्धनबाट चुनाव लडे कांग्रेस फेरि पनि दोस्रो पार्टी बन्नेछ । तीनै तहको निर्वाचन नजिकै आइसकेको छ। यसैले कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले गुट–उपगुट त्याग गर्नुपर्छ’, उनले भनिन् ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कांग्रेसभित्र फरक मत देखिए पनि अहिले उसले अबलम्बन गर्ने आम चुनावी रणनीतिबारे टिप्पणी गर्ने समय आइनसकेको बताउँछन् ।

‘गठबन्धनसँगै कांग्रेस चुनावमा जाँदा उपयुक्त हुन्छ की एक्लै जाँदा उपयुक्त हन्छ भनेर टिप्पणी गरिहाल्न अवस्था परिपक्व भैसकेको छैन । पार्टी कसरी अघि बढ्छ भन्ने कुरा पार्टीकै नेताहरुले सोच्ने कुरा भयो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?