महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छन् आत्महत्या

लोकपथ
156
Shares

महोत्तरी । मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो ।

त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीया लक्ष्मीकुमारी घरको धुरी बलोमा सलले पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । चौरासियाको मृत्युलाई पनि आत्महत्याकै सूचीमा नाम सूचिकृत गरियो ।

तुरुन्तै दुई दिनपछि जलेश्वर खैरागाउँकी १७ वर्षीया अमृताकुमारी साह पनि मृत अवस्थामा भेटिइन् । पंखामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी अमृताको पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गरियो ।

उनीहरूको जस्तै आत्महत्याको सूचीमा राखिएका एक महिनाको अवधिमा १८ जना पुगेका छन्, जसमध्ये सात जना पुरुष र ११ जना महिला छन् । धेरैजसो अधबैंसे महिला छन् । महोत्तरीमा विगतका तथ्यांकलाई समेत केलाउँदा महिलाहरू नै किन आत्महत्या रोजिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार हरेक दुई दिनमा एक महिलाले आत्महत्या गरिरहेको छन् । धेरैजसो गरिबीको कारणले मृत्युवरण गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तर, आत्महत्यापछि घटनाको गहिराइसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म आत्महत्यामा दुरुत्साहनको आरोपमा कोही पक्राउ परेका छैनन् ।
यसले झन् महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको मानवअधिकार समबन्धी मुद्दामा खबवदारी गर्ने संस्था इन्सेकको ठहर छ ।

इन्सेक नेपालका प्रदेश प्रतिनिधि अजय साह गरिबी र जिवीकोपार्जनका लागी समस्या बन्दा कतिपयले आत्महत्याको बाटो रोजेतापनी धेरैलाइ आत्महत्या गर्न बाध्य पारिने गरेको बताउछन ।

विवाहित महिलाहरूको हकमा भने काहीँ न काहीँ आत्महत्या दुरुत्साहन नै जोडिएको जानकारहरू बताउँछन । दाइजो र छोरी जन्मेकै आधारमा कतिपय महिलाको मृत्युको कारण बनेको छ ।

तर, आत्महत्या गरिएका हरेकलाई प्रहरीले थप अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म कुनै घटनाको सत्यतथ्य बाहिर आउन सकेका छैनन् । समाजसास्त्रीहरूको अनुसार आत्महत्या बहिष्करणको नै परिणाम हो ।

दाइजो, सामाजिक कुरीति तथा अन्धविश्वास, बेरोजगार, गरिबीको कारणले पनि आत्महत्या गर्नेको संख्या बढेको हो । मृत्युुबरण गरिरहेका हुन्छन । समाजसास्त्रीय दृष्टिकोणमा पुरुषभन्दा महिला बढी भावुक र संवेदनशील स्वभावका कारण आत्महत्याको छिटो निर्णय लिन पुग्छन् ।

मंसिरदेखि पुससम्मको तथ्यांक हेर्ने हो भने १८ वटा आत्महत्याका घटनामा सात जना पुरुषले समेत आत्महत्या गरेका छन । तर, महिलाको तुलनामा यो संख्या न्यून हो ।

गत शनिवार एकैरात तीन जनाले आत्महत्या गरे । जसमध्ये दुई जना पुरुष छन् । पिपरा गाउँपालिकाका रामसुन्दर यादव र गौशाला नगरपालिकाका विजय यादवले गाम्छाको पासो लगाई घरभित्रै आत्महत्या गरेको प्रहरीको रिपोर्ट छ । सोही राति बर्दिबास नगरपालिका–६ कि २६ वर्षीया सरस्वती शर्माले पनि विष सेवन गरी आत्महत्या गरिन् । मृत्युको घरायसी कारण भएको निष्कर्ष निकाल्दै प्रहरी थप अनुसन्धानमा जुटेको छ ।

एक महिनाको अवधिमा सबैभन्दा बढी बर्दिबास नगरपालिकामा आत्महत्या भएका छन् । बर्दिबास नगरपालिकाका विभिन्न ठाउँमा गरि ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?