एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधी, आर्मी उपविजेतामा सिमित

काठमाडौं ।  शसस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गदै उपाधीमाथि कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो ।

आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९ रन, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए । भिम शार्कीले ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरेपनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए ।

आर्मीका लागि सबैभन्दा धेरै रन बनाउन खेलाडी शार्की नै बने । सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ रन बनाए भने विक्रम शोबले १, सुशन भारीले २ र सहाव आलमले २ रन बनाए । आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदिप ऐरीले समान ६३–६३ रनको योगदान दिए ।

ब्यक्तिगत १२ रन बनाएर सुवास खकुरेल रिटायर्ड भएपछि क्रिजमा आएका प्रदिप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए । त्यपछि क्रिजमा आएका पृथु बास्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहित कुमार पौडेलले पनि १५ रनको योगदान दिए ।

खेलको अन्तिम समयमा सुवास क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिएपछि एपीएफले ४१.२ ओभरमा विजय लक्ष्य भेट्टायो । बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा विक्रम सोवले १ विकेट हात पारे । एपीएफका चारैजना खेलाडी क्याचआउट भएका थिए र चारवटै क्याच विनोद भण्डारीले लिएका थिए ।

प्रतियोगितामा एपीएफका अनिल शाह प्लेयर अफ दी म्याच चुनिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?