मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण नेपालमा विकास भएन : बाबुराम भट्टराई

लोकपथ
119
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताए ।

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे ।

अध्यक्ष भट्टराईले व्युरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए ।

भट्टराईले भने, ‘हामी कहाँ बडो उदेक लाग्दो कुरा के छ भने आफनो देशको विकासका जुन सापेक्षता छ । छरछिमेकमा आएको जुन परिवर्तन छ । अन्तर्राष्ट्रिय परिस्थिति जुन छ । त्यसलाई आकलन गरेर अर्थतन्त्रको क्षेत्रहरुबीचमा कसरी सन्तुलन मिलाउने र हाम्रो तुलनात्मक लाभ, प्रतिस्पर्धी लाभ कुन हो ? छुट्टयाएर अघि बढने कुरामा जानुपर्ने । सिद्धान्ततः सबैले भन्छन् । तपाईँहरुले त भन्नु हुन्छ । मेरो संकेत कता छ भने राज्यको नेतृत्व गर्ने भने राजनीतिले हो । राजनीति भनेको राजनीतिक दल र तीनका नेताले गर्ने हो । तर हाम्रो समस्या के हुन्छ भने हामी उही साउनका आँखा फुटेको गोरु सधैँ हरियो देख्छ भनेर हिजो आन्दोलन गर्‍यौँ हामीले सात सालदेखि । राणतन्त्र फ्याँक्यौं । पछि पञ्चायत फ्याँक्यौं । पछि राजतन्त्र फ्याक्ने संघर्षहरु गर्‍यौं । र अहिले हामी नयाँ चरणमा प्रवेश गरिसक्यौं । तर मेरो समकक्षी साथीहरुप्रति मलाई बडो दिक्क लाग्छ । परिस्थिति फेरिइसक्यो । एजेन्डा फेरिइसके । छिमेक फेरिइसक्यो । तर यति बेलाको हाम्रो मुख्य कार्यभार भनेको चाँहि छिटोभन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो । तर यसमा हुँदाहुँदै थगो त सबैले थाल्नु भो, समृद्धि समृद्धि । तर त्यो समृद्धि हो के ? आउँछ कसरी ? भनेर मात्रै आउँछ कि ? त्यसपछि त्यसका खास नियमहरु बुझ्नुपर्छ ? अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको सन्तुलन मिलाउनुपर्छ भन्ने कुरा मुख्य नेतृत्वले नबुझेपछि अब हाम्रो कृष्णहरिजस्ता अत्यन्तै सक्षम मानिसहरु हुनुहुन्छ । अर्थ मन्त्रालयमा म छदाँखेरी आएको परिणाम मेरो कारण मात्र नभई मैले त उहाँहरुलाई हौसला दिएको मात्रै हो । व्युरोक्रेसीमा क्षमतावान् मानिसहरु हुनुहुन्छ । तर राजनीतिक नेतृत्ले चाहिँ आफूले जान्ने पल्टिने सबै क्षेत्रमा जानेको छु भन्ने र अनि बिगार्ने होइन । कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस् भन्ने हो । र त्यो भनेको अहिलेको नेपालमा विकास र समृद्धिको जुन कुराहरु छन् । त्यो भनेको कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउने र र अहिले पनि जुन निर्वाहमुखि कृषिको बाहुल्यता छ । मुलुकमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन । विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइराखेको छ ।’

अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?