काठमाडौँ । ‘आम नेपाली जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच’को मुख्य नारासहित राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको छ ।
अध्यक्ष शुक्र बहादुर गुुरुङको सभापतित्वमा पार्टीले पुस २४ गते शनिबार काठमाडौँको धुम्बारीहीस्थित कार्की पार्टी प्यालेसमा विशेष अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनले गुरुङकै अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा शुक्रबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्षमा नवराज घले, उपाध्यक्षमा बुद्धि बहादुर गुरुङ, महामन्त्रीमा तोरण बहादुर कर्माचार्य, महामन्त्रीमा भक्त बहादुर थापा, सहमहामन्त्रीमा सागर कार्की र सचिवमा आनन्द थापा रहेका छन् ।
यसैगरी केन्द्रीय सदस्यहरुमा ठानिश्वर रिजाल, घनराज तामाङ, सञ्जय कुमार श्रेष्ठ, एलिजा बस्नेत, दोङसाङ तामाङ, रिता सुनार, सावित्री थापा, लाक्पा तामाङ, सरोज कार्की, विनोद बहादुर थापा, भक्त बहादुर विष्ट, मेख बहादुर सुनार, शिव बहादुर विश्वकर्मा, झयन्द्र कुमार अधिकारी, जयराम श्रेष्ठ, सुशिला जिरेल, सजना थापा, कमल प्रशाद खरेल, आयुष परियार, उत्तम तामाङ, श्रीकमल प्रसाद पौेडेल, लवराम गुरुङ, ध्यानेन्द्र विक्रम शाही, लक्ष्मण सुनार, विमला सुनार, जया थापा, सुरेश कुमार मण्डल, नरबहादुर मण्डल, कमला पाण्डे, कविता घले, तारादेवी बस्नेत र महिन्द्र परियार रहेका छन् ।
विशेष अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष गुरुङले राष्ट्रिय नागरिक पार्टी वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको पार्टी भएको र यसले नेपाली राजनीतिमा नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी र माओवादी पार्टीहरुले गरेका बेथितिहरुलाई रोक्ने उद्देश्य लिएको बताए ।

‘गरिब दुःखी जनता र राष्ट्रिय हितको प्रमुख उद्देश्यसहित हामी नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएका हौँ’, उनले भने ।
पार्टी विसं २०७० सालमा स्थापना भएको र आफूले विसं २०७५ साल वैशाख २९ गतेबाट पार्टीमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले भने, ‘अबको पाँच वर्षभित्र सत्तामा पुग्ने गरी हामीले रणनीति बनाएका छौँ । अहिलेसम्म ३० वटा जिल्लाहरुमा कमिटी विस्तार गरिसकेको र यो विशेष महाधिवेशनपछि हामी बाँकी रहेका अन्य जिल्लाहरुमा पनि तीव्ररुपमा कमिटी विस्तार गर्छौँ ।’
‘पार्टीको मुख्य उद्देश्य गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने, सानो–ठूलो सबै रोगको उपचार सकेसम्म निःशुल्क, नसके न्यूनतम शुल्कमा गर्नुपर्ने, युवाहरुलाई बढ्दो विदेश पलायनलाई रोक्नको लागि स्वदेशमा नै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र यसको लागि सरकारले प्रतिघरपरिवार १५ लाख रुपैयाँ विनाधितो कर्जा उपलब्ध गराउनुपर्ने रहेको छ ।
यही माग लिएर हामीले सरकारलाई घच्घच्याउँदै जनताको बीचमा गएका हौँ’, उनले भने । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले राष्ट्रिय नागरिक पार्टीलाई जनताको आफ्नो पार्टी बनाउन शुभकामना दिए । ‘तपाईँहरुको उद्देश्यअनुरुप तपाईँहरुको अब वैकल्पिक राजनीतिक शक्तिको रुपमा उठाउनुहोस्, देश र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस्’, अध्यक्ष साहले भने ।
सोही कार्यक्रममा उक्त पार्टीका वरिष्ठ अध्यक्ष नवराज घलेले पनि आफ्नो पार्टीले जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्ने र देशव्यापीरुपमा कमिटी विस्तार गर्दै आम नेपाली जनताले गर्व गर्न लायकको पार्टी बनाउने उद्घोष गरे ।
विशेष अधिवेशन कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका महामन्त्रीहरु गोविन्द्र श्रेष्ठ, बिबी थापा, सहमहामन्त्री सागर कार्कीसहितका व्यक्तिहरुले पार्टीको नीति, उद्देश्य, पार्टीको भावी उद्देश्य, एजेन्डा र कमिटी विस्तारका बारेमा जानकारी दिएका थिए ।
महाधिवेशनमा कास्की, पोखरा, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, रामेछापलगायतका ठाउँहरुबाट सयौँको संख्यामा उक्त पार्टीको नेता तथा कार्यकर्ताहरु राजधानी आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया