देउवासँग भेटवार्ता पछि ओलीले भने- ‘कुराकानी राम्रो भयो’

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेएका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका थिए ।

करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्केका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए । उनले भने, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त । कुराकानी राम्रो भयो दुई जनाबीच ।’

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ ।

सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार ९हिजो० बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभपति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दिएको थियो ।

प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौंता संसदबाट पारित गराउनुपर्ने दवाव पनि छ । तर ती विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ । एमालेले आफ्नो पार्टीको संसदीय दलले निश्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादनै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उहाँको निवास बालकोट पुग्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?