सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

लोकपथ
28
Shares

भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम थप बढेको छ ।

भारतमा कोरोनाका नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ । विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् । राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न सङ्घसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेका छैनन् ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो तीन दिनमा २१५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सङ्क्रमित अधिकांश सीमा नाकाबाट प्रदेशमा भित्रिएका नागरिक छन् ।

बुधवार एकै दिनमा पश्चिमी सिमानाका कञ्चनपुरको गड्डा चौकी, कैलालीको गौरीफन्टा र बैतडी सीमा नाकाबाट भित्रिने १०७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सीमा नाकामा एन्टिजेन पद्धतिबाट भित्रिने नागरिकको कोरोनाको नमूना परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण बढ्न थालेपछि भारतमा आफ्नो काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढ्दा पनि प्रदेशमा जोखिम देखिएको हो ।
नाकाबाट भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतना अपनाइए पनि भित्रिने कतिपय नागरिकबाट लापरबाही भइरहँदा यो रोगको जोखिम बढेको त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेव गणेश साउदले बताए ।

यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक १० प्रतिशतका दरले सङ्क्रमित थपिने गरेको जनाइएको छ । यात्रुको खोजीमा सीमा पारी पुग्ने विद्युतीय रिक्साले यात्रुलाई सरसामानसहित हेल्थ डेक्सका कर्मचारी र सीमामा खटिएका प्रहरीलाई छलेर भित्र्याउँदा पनि जोखिम देखिएको छ । ‘ओमिक्रोन’ को आशङ्कामा दुई जनाको नमूना सङ्कलन गरी थप परीक्षणका लागि काठमाडौँ पठाइएको साउदले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा देखिएकाले भारतबाट आउनेको नमूना परीक्षण गराउने र खोप लगाउने काममा प्राथमिकता दिइएको जानकारी दिए । हालसम्म प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन् ।
भारतसँगको खुला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?