कोदोबालीमा फौजी कीरा

चौतारा, २५ असोज ।सिन्धुपाल्चोकमा कोदोबालीमा फौजी कीराको प्रकोप देखा परेको छ ।फौजी कीराले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ढिला शुरु भएका कारण समयमै रोपाईं हुन नसकी धानबालीलाई असर पु¥याएकै अवस्थामा बाला लाग्ने समयमा कोदोबालीलाई फौजी कीराले क्षति पु¥याएको हो ।जिल्लाको पश्चिम र मध्य क्षेत्रमा लगाइएको कोदोबालीलाई असर पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाला लागेको र बाला लाग्ने अवस्थामा पुगेको कोदोको पात तथा डाँठसमेत नष्ट गरी उत्पादन नहुने अवस्थामा पुगेको चौतारा साँगाचोकगढी नगरपालिकाका किसान सुदर्शन धिताल बताउछन ।फौजी कीरा रोकथामका लागि किसानलाई इमिडाकोलोरोपिट, साइपरमेट्रिक र कोलोरोसाइरिफस नामक विषाधि सिफारिस गरेको वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताए । यसप्रकारको रोग वातावरण, मौसम तथा जलवायु परिवर्तनले बेला–बेलामा अकस्मात देखिने गर्दछ । गत वर्ष गोलभेँंडामा पात खाने कीरा फैलेर नोक्सान पु¥याएको थियो । हरियो र कालो रंगको उक्त किराले पात र डाँठ खाने गर्छ ।जिल्लामा गत वर्ष २४ हजार हेक्टरमा १८ हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो । यस वर्ष २२ हजार हेक्टरमा मात्र कोदोबाली लगाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?