अनियमित महिनावारी छ भने यी खानेकुराको सेवन गर्नुस्

लोकपथ
1.3k
Shares

धेरै महिलाहरूमा महिनावारी नियमित नहुने समस्या देखिने गरेको छ । सामान्य अवस्थामा महिनावारी हुँदा त महिलाहरूलाई धेरै नै अप्ठ्यारो हुने गर्छ भने अझ महिनावारी गडबडी भएमा झनै समस्या हुन्छ ।

चिकित्सकहरूका अनुसार महिलाहरूको महिनावारी सरदर २८ दिनको अन्तरमा हुनु पर्छ । यदि २६ देखि ३२ दिनको बिचमा महिनावारी भएको खण्डमा यसलाई पनि सामान्य नै मानिन्छ । यदि यो भन्दा बढी समयको अन्तरालमा महिनावारी भएमा यसलाई भने महिनावारीको गडबडी मानिन्छ । यस्तो किसिमको अवस्था आउनुमा महिलामा रहेको तनाव, मदिरा सेवन, ध्रुमपान, लामो यात्रा वा शारीरिक सम्बन्धका कारणले पनि हुन सक्छ ।

हाम्रो शरीरमा देखिने कतिपय समस्या र रोगलाई सही खानपिनले नै निदान गर्छ । यस्तै कतिपय रोग र समस्या पनि हामीले गरेकै गलत खानपिन र सही जीवनशैली नअपनाउँदा नै हुने गर्छ ।

महिनावारीमा गडबडी आएको थाहा पाउने बित्तिकै खानपिनमा परिवर्तन गरेर पनि यसलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ । केही यस्ता खानेकुरा पनि छन् जसलाई व्यवस्थित रूपमा खाने हो भने महिनावारीको अनियमितताको समस्यालाई व्यवस्थित बनाउन सकिने आयुर्वेदका चिकित्सकहरूले सुझाव दिएका छन् । यस्ता किसिमका खानेकुरा खाँदा वर्जित गरिएका खानपिनहरू भने गर्नु नै हुदैंन । यदि यो विधि अपनाउँदा पनि महिनावारी सामान्य भएन भने चिकित्सकको परामर्शमा जानु बुद्धिमानी हुन्छ ।

बेसार
बेसारलाई धेरै गुणकारी मानिन्छ । चिसो मौसम होस् वा गर्मी मौसम, चोट लागेको होस् वा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन नै किन नहोस् बेसारको उपयोगिता सबैभन्दा अगाडी हुने गर्छ । धेरै नै गुणकारी भएको बेसारले पनि अनियमित महिनावारीलाई नियमित गर्न सघाउने गर्छ ।

यसका लागि तातो दूधमा एक चिम्टी बेसार र एक चम्चा मह हालेर सुत्नु भन्दा अगाडी पिउने हो भने अनियमित महिनावारीको समस्या हटेर जान्छ । यसको सेवनले महिनावारी हुँदा हुने दुखाइलाई समेत कम गर्छ ।

घ्युकुमारी
घ्युकुमारी (एलोवेरा)को सेवनले हाम्रो शरीरमा हुने हार्मोनको गडबडीलाई नियन्त्रण गरेर यसलाई सामान्य अवस्थामा राख्ने काम गर्छ । यदि हार्मोनको समस्याको कारण महिनावारीमा गडबडी भएको छ भने घ्युकुमारीको सेवनले महिनावारीको चक्र प्रक्रियालाई नियमित बनाउन सकिन्छ । यसको लागि बोक्रा निकालिएको एक चम्चा ताजा घ्युकुमारीलाई एक चम्चा महमा मिसाएर बिहानको नास्तासँग सेवन गर्दा बढी प्रभावकारी हुने गर्छ । एक महिनाको नियमित सेवनले नै यसको प्रभाव देखिन थाल्छ ।

अदुवा
अदुवा हाम्रो शरीरका धेरै समस्याहरूमा फाइदा गर्ने खानेकुरा मानिन्छ । चिसोको उपचार देखि खाना पचाउन सम्मलाई अदुवाको प्रयोग हुन्छ । अदुवामा भिटामिन सी र म्याग्नेसियम रहेको कारण यसको सेवनले महिलाको पाठेघर र मूत्र थैलीलाई खुम्चिनमा मद्दत गर्छ । जसको कारण महिनावारी नियमित हुन यसले सघाउँछ । यदि महिनावारी नियमित छैन भने अदुवालाई नियमित रूपमा आफ्नो खानपानमा समावेश गर्नु राम्रो हुन्छ ।

दालचिनी
खानेकुराको स्वाद बढाउन प्रयोग हुने दालचिनीको सेवनले पनि अनियमित महिनावारीलाई सामान्य बनाउन मद्दत गर्छ । दालचिनीको सेवनले शरीरलाई भित्री रूपमा न्यानो राख्छ । यसको सेवनले रक्त सञ्चारलाई बढाउने हुँदा यसको सेवन गरेमा पनि महिनावारी नियमित रूपमा हुने गर्छ ।

मेवा
काँचो मेवालाई नियमित रूपमा खाने हो भने पनि यसले महिनावारीको अनियमितलाई सामान्य बनाउन मद्दत गर्छ । काँचो मेवाको सेवनले महिलाको पाठेघरलाई खुम्चाउन मद्दत गर्छ जसको कारण योनिबाट महिनावारी हुँदा रगत निष्कासनलाई सहज बनाउने गर्छ । काँचो मेवालाई कोरेँसामा कोरेर अचार वा तरकारी बनाएर खाँदा शरीरलाई फाइदा गर्छ ।

कफी
कफीमा रहेको क्याफिनले अनियमित महिनावारी वा नियमित महिनावारी हुँदा हुने पिडालाई कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा एस्ट्रोजनको स्तरलाई नियन्त्रित गरेर यौनाङ्ग रहेको भागमा रक्त प्रवाहलाई राम्रो बनाउँछ । जसको कारण महिनावारी हुँदा नसाहरूलाई खुम्चिनबाट रोक्ने काम गर्छ ।

भूइँकटहर
भूइँकटहरमा एक किसिमको तत्त्व पाइन्छ । जसलाई ब्रोमेल्यान भनिन्छ । यसको सेवनले पाठेघरको भित्तालाई मिलाउने काम गर्छ । जसको कारण भूइँकटहर सेवन गर्ने महिलाको महिनावारी पिडा रहित ढङ्गले हुने गर्छ । यसको सेवनले हाम्रो शरीरमा रातो र सेतो रक्त कोषहरूको सङ्ख्या पनि वृद्धि गर्छ । जसको कारण रक्त प्रवाहलाई राम्रो समेत बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?