जुम्ला । जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकोे पाइएको छ । चालू आर्थिक वर्षको हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको पाइएको हो । चालु आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिका भित्रका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेशन भएको तथ्याङ्क छ ।’
पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रवधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो ।
जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्ट्रेशन गर्नेको संख्या बढेको नायब सुब्बा मोन विष्टले बताए ।
नगरपालिका भित्रको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाको महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएमा ५० प्रतिशत राजश्वमा छुट हुने गरेको छ ।
राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको पाइएको छ । कार्यालय प्रमुख रोकाया भन्छन्, ‘महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८३५ रुपैया राजश्वमा छुट भएको छ । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा ९ लाख ४२ हजार १६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा एक लाख ३ हजार राजश्वमा छुट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया