टेलिकमको प्रवन्ध निर्देशक पदमा कामिनीले निरन्तरता पाउने पक्का

काठमाडौं ।  नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीको पद जोगिएको छ । 

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रवन्ध निर्देशक राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेको छ । 

व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै कामिनीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो भने कामिनीले दिएको स्पष्टीकरण मन्त्रिपरिषद पुगेको छ । 

मन्त्रिपरिषदको बैठकले कामिनीलाई सचेत मात्र गर्न निर्णय गरेसँगै उनले टेलिकममा निरन्तरता पाउने पक्का भएको छ । तर, टेलिकमको सेवा विस्तार तथा गुणस्तर वृद्धिका लागि केही शर्तनामा गराइएको स्रोतले जनाएको छ । ‘एकपटक उनलाई मौका दिने निर्णय भएको छ’ स्रोतले भन्यो ।

उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेको थियो । टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?