सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा मात्र आज नेकपा एमालेको जिल्ला अधिवेशन

लोकपथ
35
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा आज नेकपा एमालेको जिल्ला अधिवेशन हुँदै छ । नौवटा जिल्ला रहेको प्रदेशमा बझाङबाहेक अन्य आठ जिल्लामा अधिवेशन हुन लागेको हो ।

प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डँडेल्धुरा र बाजुरामा आज जिल्ला अधिवेशन हुन लागेको जनाइएको छ ।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।

एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले बझाङमा भने केही समय पछि अधिवेशन हुने जानकारी दिए । प्रदेशमा पार्टीको जिल्ला अध्यक्षका लागि आँकाक्षीहरु बढी देखिएका छन् ।

कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डे आकांक्षी रहेका छन् ।

कञ्चनपुरमा वर्तमान अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी छन् । थापा तत्कालीन नेकपा हुँदा समेत कञ्चनपुरका अध्यक्ष थिए भने बिष्ट भीमदत्त नगरपालिकाका नगर प्रमुख हुन् ।

डँडेल्धुरामा चार जनाले अध्यक्षमा दाबी गरेका छन् । वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल अध्यक्षका दाबेदार हुन् ।

त्यसैगरी बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा दाबी रहेका छन् भने दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने तरखरमा रहेका छन् ।

दार्चुलामा नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षमा दाबेदार रहेका छन् ।

बाजुरामा कालीबहादुर शाही, भरत थापा, र लालबहादुर ओली अध्यक्ष बन्न चाहिरहेका छन् भने अछाममा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैसी अध्यक्ष पदको दाबेदार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?