मैत्रिपूर्ण खेलमा स्पेन, डेनमार्क र फिनल्याण्ड विजयी, फ्रान्स र अमेरिका १—१ गोलको बराबरीमा रोकिए

फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा रहेको पुर्व च्याम्पियन स्पेनले ट्युनिशियाविरुद्धको मैत्रिपूर्ण खेलमा जित हात पारेको छ । 

रुसको क्रस्नोडरमा शनिबारराती भएको खेलमा विश्वकपको उपाधी दावेदार मानिएको टिम स्पेनले ट्युनिशियालाई १—० गोलले पराजित गरेको हो  । खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो हाफमा भने गोल गर्न सफल भयो ।

खेलको ८४ औ मिनेटमा सब्सिच्युट यागो एसपासले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले डिएगो कोष्टाले दिएको पासलाई सदुपयोग गदै गोलपोष्टको जाली चुमाएका थिए । एसपास खेलको ७६ औं मिनेटमा जोर्डी आल्बाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

विश्वकपको समुह चरणमा इङल्यान्डको प्रतिद्धन्दी रहेको ट्युनिसियाले स्पेनलाइ कडा चुनौती दिएको थियो । स्पेन पछिल्ला २० खेलदेखि अपराजित छ । समुह बी मा रहेको स्पेनले पहिलो खेल पोर्चुगलसँग खेल्नेछ । दोस्रो खेलमा इरान र तेस्रो खेलमा मोरक्कोको सामना गर्नेछ । ट्युनिसिया समुह जी मा छ । यो समुहमा इङल्यान्ड र ट्युनिसियासँगै बेल्जियम र पानामा छन् ।

त्यस्तै, शनिबारराती नै भएको अर्को मैत्रिपूर्ण खेलमा डेनमार्कले मेक्सिकोलाई २—० गोलले पराजित गर्यो ।

डेनमार्कको जीतमा युसुफ पौलसेन र क्रिस्टियन एरिक्सनले एक—एक गोल गरेका थिए । पौलसेनले खेलको ७१ औ र एरिक्सनले ७४ औ गोल गरेका थिए । डेनमार्क अस्ट्रिया, पेरु र फ्रान्ससंगै समुह सी मा छ । मेक्सिको रहेको समुह एफमा जर्मनी, स्विेडन र दक्षिण कोरिया छन् ।

शनिबारराती नै भएका अन्य खेलहरुमा अस्ट्रेलियाले हंगेरीलाई २—१ गोलले, मोरोक्काले इस्टोनियालाई ३—१ ले, फिन्ल्याण्डले बेलारुषलाई २—० ले तथा अजरबैजानले लातभियालाई ३—१ गोलले हराउन सफल भएको छ । यता पुर्व विश्व च्याम्पियन फ्रान्सले अमेरिकालाई १—१ गोलको बराबरीमा रोक्दा स्विडेन र पेरु भने गोलरहित बराबरीमा रोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?