गभर्नर अधिकारीद्वारा ‘बैंकिङ शिक्षा’अभियानको शुभारम्भ

लोकपथ
42
Shares

काठमाडौं । दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भभएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् ।

हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा सुरु भएको यस अभियानमा बैंक के हो ? बैंकबाट के कस्ता सुविधाहरु, कसरी पाइन्छ ? वित्तीय व्यवस्था, वित्तीय प्रणाली, वित्तीय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान सर्वसाधारणलाई बुझाउने कार्यक्रमहरु सञ्चालन, प्रकाशन तथा प्रशारण हुने बताइएको छ ।

कार्यक्रममा ‘बैंकिङ्ग वित्तीय व्यवस्था, वित्तीय प्रणाली, वित्तीय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान शिक्षा अभियानका संयोजक राजु ढुंगेलले हिमालय टेलिभिजनमार्फत प्रस्तुत हुने कार्यक्रमको मोडल पनि सार्वजनिक गरे । बैंकिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत साताको एक दिन वित्तीय साक्षरता सम्बन्धी गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृङ्खला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम चलाइने उनले बताए ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्तीय साक्षरता नम्बरमा हेरेर वित्तिय साक्षरताको दर ठयाक्कै एकिन गर्न नसकिने बताए । उनले भने, ‘बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा खोजेर भेटिँदैन।

वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौती छ । सञ्चारमाध्यम नै अग्रसर भएर यो अभियान शुरु हुनु खुसीको कुरा हो ।’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ्ग पहुँचमा आएकालाई बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’ यस्तै राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन् ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले ‘बैंकिङ्ग शिक्षा’कार्यक्रमले शहरमा मात्रै नभएर गाउँ–गाउँमा बैंकिङ्गबारे बुझाउन भूमिका खेल्ने बताए । वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ उपयोगी हुने बताए ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए । अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ्ग साक्षरता धेरै आवश्यक रहेको बताए । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए । सञ्चारमाध्यमकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन हुनु सबैका लागि खुसीको विषय भएको बताए ।

साथै कार्यक्रममा बोल्दै स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताए । रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामको पछाडि ‘बैंक’ लेख्न दिन माग गरे । साथै सेलिब्रटी बैंकर मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै सञ्चारविद्ध चेतन अधिकारीले सामान्यभन्दा पनि सामान्य बैंकिङ्ग प्रोडक्टहरु जस्तै मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, एटीएमको प्रयोग, थुप्रै प्रकारका बचतहरु र त्यसबाट पाइने ब्याज लगायतका विषयहरुमा पनि आवश्यक ज्ञान सानैबाट सिकाइनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?