आर्मी र एपीएफ प्रधानमन्त्री कपको फाइनलमा भिड्ने

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लव र एपीएफ क्लव आमने—सामने हुने भएका छन् ।

वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो । एपीएफका लागि अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए । पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजबंशीले २ तथा, आरिफ शेख र सुशील कंडेलले  १–१ विकेट लिए ।

एपीएफले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा १४.४ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव डेढ घण्टा ढिला गरी पुन सुरु गरिएको खेल डकवर्थ लुइस नियमअनुसार २८ ओभरमा छोट्याइयो भने पुलिसले १४१ रनको नयाँ लक्ष्य पायो । तर, पुलिसले निर्धारित २८ ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्र बनाउन सकेपछि एपीएफको ९ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

पुलिसका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सातौं नम्बरमा ब्याटिङमा आएका कुशल भुतेृलले बनाएको ३० रन पुलिसका ब्याट्सम्यानले बनाएको सर्बाधिक स्कोर हो । पुलिसका लागि ओपनर सुनील धमलाले २४ तथा दिलिप नाथले १६ रन बनाए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङतर्फ एपीएफका अमरसिंह रौतेलाले ३ तथा कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी तथा करण केसीले १–१ विकेट लिए । रौतेला खेलको म्यान अफ द म्याच चुनिए ।

उनले १० हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् ।  प्रतियोगितामा ७ प्रदेश र  ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो ।

फाइनल खेल सोमबार टियू मैदान कीर्तिपुरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?