कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुने : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताएका छन् ।

कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुन सक्ने दाहालले बताए । 

आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति प्रकृयासँग सम्बन्धित बाँकी काम पूरा गर्नु पर्ने उनले बताए । ‘आयोगको काम जुन गतिका साथ अघि बढनु पथ्र्यो त्यसमा ढिलाई भएको हो ।,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगलाई शान्ति प्रक्रियासँग सम्बन्धित सबै काम पूरा गर्न सरकारले समय थप गर्छ ।’

त्यस्तै अध्यक्ष प्रचण्डले निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्न एकाधिकार कायम भएका क्षेत्रहरुको एकाधिकार तोड्नका लागि गृहमन्त्रीलाई आग्रह गरेको बताए । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा महंगी बढेको उनले दाबी गरेका छन् ।

राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने बारे एकचरण छलफल भएको र अब पुनः छलफल हुने उनले बताए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकीकरणको विषयमा छलफल भएको तर अहिले तत्काल त्यसको सम्भावना नभएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?