छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा प्र.३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं नैकाप बस्ने धादिङ घर भएकी २७ वर्षीया शोफिया श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक काठमाडौं बाँनियाटार बस्ने गोरखा सहिद लखन गाउँपालिका-९ घर भएका ३१ वर्षीय राम शरण ढकालको सोही ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

रोल्पा, सुनिल स्मृति गाउँपालिका-३ डोम्फेस्थित सडकमा ना.७ त ६४२६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सुनछहरी गाउँपालिका-५ जुवाङ बस्ने १९ वर्षीय पूर्ण सिंह बिकको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुलिचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-६ गुलरास्थित सडकमा से.४ प ६०२१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका-५ बस्ने ३६ वर्षीय मेघलाल चौधरीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले पैदलयात्री लम्कीचुहा नगरपालिका-६ बस्ने ६२ वर्षीय भवान सिंह भाटलाई ठक्कर दिई उक्त मोटरसाइकल रा.१ क ११३० नम्बरको क्रेन परेर गम्भीर घाइते भएका उनको उपचारको लागि लालरत्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका भाटको सोही अस्पतालमा उपचार भइरहेको छ । क्रेन चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ कोटिहवा चोकमा ना.४ ख ८९४० नम्बरको ट्रकले लु.७० प २४४० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका-११ बस्ने २५ वर्षीय मन बहादुर चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?