अनेरास्ववियु (क्रान्तिकारी) को सम्मेलन भदौमा

काठमाडौँ – गोपाल किराँती निकट नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ ।

आज क्रान्तिकारीको २२आँै राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले आगामी भदौ १ र २ गते काठमाडौँमा गर्ने निर्णय गरेको सम्मेलन आयोजक समितिका संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो ।

बैठकले कमल सिजापती, जनक ढुंगाना, सीताराम न्यौपाने र एकराज राईलाई आयोजक समितिमा थप गर्ने निर्णय गरेको छ । योसँगै आयोजक समिति ४४ पुगेको छ ।

बैठकले मौलिक हकका रुपमा रहेको निःशुल्क शिक्षाको अधिकारलाई कार्यान्वयन गर्नका लागि ऐन बनाउनुपर्ने, स्नातक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, रोजगारीको सिर्जना गरी शिक्षा र स्वास्थ्यमा देखिएका विकृति अन्त्य गर्नुपर्ने माग गरेको छ ।

यसैगरी, निजी विद्यालयले लिएको मनोमानी शुल्क फिर्ता गर्नसमेत माग गरेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

क्रान्तिकारीका देशभरि ७० जिल्लामा जिल्ला समिति रहेका छन् । गत फागुन १६ गते तत्कालीन नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठनसँग अलग भएर रायमाझीको नेतृत्वमा नयाँ संगठन निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?