धनगढी । नेपाली कांग्रेसको नजिकिँदै गरेको जिल्ला अधिवेशनमा कैलालीकाे जिल्लासचिवका लागि युवानेता केशव मिश्रले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको संगठन सृढुदीकरण, सशक्त र बलियो बनाउनका लागि आफूले सो पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
‘नेपाली कांग्रेस समष्टिगत रूपमा मजबुत बनाउन मैले जिल्लासचिव पदको लागि उम्मेदवारी घोषणा गरेको हुँ’, मिश्रले भने, ‘पार्टीका हरेक काम, यहाँका हरेक मुद्दा उठाउनेछु । पार्टीका हरेक संगठनलाई मजबुत बनाउन प्रयत्न गर्न म पछि हट्ने छैन् ।’
लामो समयदेखि कांग्रेसका काममा जोडिएको बताउँदै कांग्रेसको अभियानमा निरन्तर लागिरहने र सबैका मनोभावना समेटेर काम गर्ने समेत बताए ।
‘लामो समयदेखि नै म कांग्रेसका काममा जोडिँदै आएको मान्छे हुँ’, उनले भने, ‘कांग्रेसको अभियानमा निरन्तर हिन्ने सिपाही हुँ । मैले जहाँ उभिए त्यहाँ सबैका मनोभावना समेटेर काम गरेको छु ।’
अहिले नेतृत्व गरिरहेको शेरबहादुर देउवाकै टिमबाट आफू चुनाव लड्ने उनले बताए ।
‘कांग्रेसको रूपान्तरण र पुस्ता हस्तान्तरणमा पनि म पात्र बन्न सक्छु । मेरो क्षमता सबैले देख्नुभएको छ मेरो जित्ने आधार यही हो । अहिलेसम्म एउटै विचारसमूहका साथीहरू चुनावमा होमिएकाले सहमतिमै नेतृत्व चयन हुनसक्ने सम्भावना छ । सहमति नभए प्यानल बन्छ । अहिले नेतृत्व गरिरहेको शेरबहादुर देउवाकै टिमबाट चुनाव लड्छु । सके सर्वसम्मत नभए चुनाव हुन्छ,’ उनले भने ।
उनले थपे, ‘म जिल्लाको १३औँ महाधिवेशनमा पनि सचिव पदको आकांक्षी थिएँ । तर, पार्टीका अग्रज नेताहरुको आग्रहमा मैले उम्मेदवारी दिइनँ, यस वर्ष मेरो उम्मेदवारी रहनेछ । मलाई लाग्छ, मेरो समूहले मेरो मूल्यांकन गरेर सो पदमा समावेश गराउनेछ ।’
विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा होमिएका मिश्र २०५४ सालमा रघुनाध बहुमुखी क्याम्पसको एकाइ अध्यक्ष भएर काम गरेका थिए । क्याम्पसमा अध्ययन गर्दै गर्दा धनगढीस्थित सुदूरपश्चिमाञ्च एकेडेमीमा एकाइ अध्यक्ष बनेका थिए ।
उनले नेपाली विद्यार्थी संघमा आठ वर्षसम्म जिल्ला सदस्य भएर काम गरेका थिए । चार वर्ष सदस्यसचिव, पाँच वर्ष केन्द्रीय सदस्य भएर काम गरेका थिए । पार्टीको १२औं महाधिवेशनमा उनी धनगढी उपमहानगरपालिकाको नगरसचिवमा अत्याधिक मतले विजयी भएका थिए भने १३औं महाधिवेशनमा कैलाली जिल्लाको सचिव पदका प्रत्यासी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया