५ वर्षभित्रै प्रचण्ड कार्यकारी राष्ट्रपति बन्नुहुन्छ : पौडेल

काठमाडौं – नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेको बताउँदै भने,‘यो विषयमा कानूनविद्हरुसँग छलफल गर्छौं, नयाँ परिस्थिति अनुसार प्रतिपक्षसँगपनि छलफल नयाँ सहमतिका साथ अघि बढ्छौं।’
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आकस्मिक रुपमा पार्टी एकता भएकोले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाए ।
उनले भने,‘सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकोले संविधानको मर्म अनुसार नै हामी अघि बढेका थियौं, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौं, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्छौं।’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति त प्रचण्ड बन्न तयार हुनुभयो अरे नि त भनेर सोधिएको  प्रश्नमा उनले भने,‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा प्रचण्ड नै सशक्त उम्मेद्धवार हो।’ उनले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा समेत गरे ।
यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आगामी पाँच वर्षसम्मको लागि भएको उल्लेख गर्दै भने,‘एकता हुँदाखेरि नै हामीबीच सरकार आलोपालो चलाउने सहमति भएको हो, ओलीले अढाई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी प्रचण्डले चलाउने, यही पाँच वर्षको अवधिभित्रै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागु भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ।’
नेता पौडेलले अभियोग लाग्दैमा कोही पनि अपराधी नहुने तर्क गर्दै सहमतिका साथ पारित भएको प्रतिनिधिसभा सञ्चालन नियामावलीले राजनीतिक संस्कारको विकास गरेको स्पष्ट पारे ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?