सेयरबजारकाे उकालाे यात्रामा ब्रेक : नेप्से परिसूचक ३०.७५ अंकले गिरावट

लोकपथ
130
Shares

तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।

तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो ।

तर आज नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत् उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै, बैंकिङ, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

त्यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ । आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?