काठमाडौं । विद्युत् खपत बढाउने अभियान सञ्चालन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको खपत दुई हजार मेगावाट पुर्याउने तयारी थालेको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ ।
हाल उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु अघि बढिरहेको छ ।
सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को सहुलियतपूर्ण ऋणमा काठमाडौंमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नु पर्ने कामलगायतका विषयमा जानकारी लिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०र १३२ र ३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२र३३र११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगमन गरी निर्माणलाई तिब्रता दिन आग्रह गरे ।
‘निर्माणाधीन सबस्टेसनहरु अर्को वर्षको हिउँद अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत मागअनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने, ‘त्यसैले यस्ता संवेदनशील आयोजनाहरुको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं ।’
मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिंदा, स्थानीयले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिंदा काम प्रभावित भएको र समस्या समाधान गर्न सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय भइरहेको उनले बताए ।

मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२० र १३२ र३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि ठूलो हब बन्दैछ ।
सबस्टेसनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायतका क्षेत्रमा विद्युत आपूर्ति गर्न पाँच वटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ । फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने स्यूचाटार र टेकु सबस्टेसनको लोड कम हुने प्राधिकरणले जनाएको छ ।
यसैगरी थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२-११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । सुख्खाबन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ ।
‘थानकोट–चापागाउँ–भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो,यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो तर लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याउने योजना बनाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाउँदैछौं, त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजाने छौं ।’ अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।
प्राधिकरणले काठमाडौंको टेकुस्थिति ६६र११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२र११ केभी र फुटुङमा १३२र११ केभीको नयाँ सबस्टेसन बनाउँदैछ । दुवै सबस्टेसनमा ४५र४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु राखिने छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गर्ने योजना छ ।
यसैगरी भक्तपुरको चाँगुनारायणमा १३२-११ केभी सबस्टेसन निर्माणाधीन छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २२०र१३२र११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन ।
तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो ।
सबस्टेसनमा १६० र २२।५ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन रहेको प्राधिकरणले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया