बैतडी । मुक्तहलिया, महिला र अपांगता भएका व्यक्तिहरूको मानवअधिकार उल्लंघनका मुद्दाहरूको व्यवस्थापनसम्बन्धी तीन दिने तालिम बैतडीको पाटनमा सञ्चालन भएको छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघद्वारा सञ्चालित मुक्तहलिया सशक्तीकरण परियोजनाको अयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिममा बैतडीका चार स्थानीय तह दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका मुक्तहलिया समुदायका व्यक्तिहरूको सहभागिता छ ।
प्रत्येक स्थानीय तहबाट तीनजना मुक्तहलिया समुदायका व्यक्तिहरू, अपांगता भएका व्यक्ति, जनप्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ ।
तालिममा मानव अधिकार, मुक्तहलिया तथा अपांगता भएका नागरिकहरूको अधिकारका विषयमा प्रशिक्षण दिइरहेको तालिमका प्रशिक्षक तथा जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेश कोलीले बताए ।
मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपालका फोकल पर्सनसमेत रहेका कोलीले भने, ‘हामी सहभागीलाई अधिकारका विषयमा जानकारी गराउनुका साथै मुक्तहलिया समुदायका व्यक्तिहरूको अवस्था, सूचनाको हकलगायतका विषयमा समेत छलफल गरिरहेका छौँ । मुक्तहलियाका अधिकार सुनिश्चीत नभएकाले सरकारलाई दबाब सृजना गर्नुपर्ने विषयमा छलफल गरिरहेकाछौँ ।’
तालिममा स्थानीय तहका जनप्रतिनिधिहरूसँग मुक्त हलिया समुदायका व्यक्तिहरूले योजना माग तथा अधिकार स्थापित गर्न गरिने पहलबारे संक्षिप्त नाटक प्रदर्शन गरिएको राष्ट्रिय मुक्तहलिया समाज महासंघका पूर्वअध्यक्ष राजुराज भुलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया