राष्ट्रियसभा निर्वाचन : तीन पदका लागि छ जनाको उम्मेदवारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुनलागेको राष्ट्रियसभा निर्वाचनका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पाँच दलको गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्रले अन्य, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका मदनकुमारी (गरिमा) शाह र दलितमा नेकपा माओवादीका जगत पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार दर्ता गराएका हुन् ।

यससँगै सुदूरपश्चिम प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । यही माघ १२ गते हुन लागेको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएसँगै प्रदेशमा प्रतिस्पर्धा हुन लागेको हो ।

No description available.

उम्मेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका नारायणदत्त मिश्रले लोकतन्त्रको सुदृढीकरण गर्न आवश्यक रहेको बताए ।

‘गठबन्धनलाई आगामी निर्वाचनसम्म लग्नुपर्छ । यो प्रतिगमनविरुद्धको गठबन्धन भएकोले यसलाई हामीले टिकाइराख्नु आवश्यक छ’, उनले भने ।

उनले नेपाली कांग्रेसको संगठन सुदृढीकरण गर्नतर्फ अझै ध्यान दिनुपर्ने बताए ।

No description available.

नेकपा एमालेका डिल्लीराज भट्टले पार्टीभित्र लामो समय योग्दान पुर्याएको कारण पार्टीले मूल्यांकन गरेर उम्मेदवारमा मनोनीत गरेको बताए । उनले निर्वाचन भनेको नियमित प्रक्रिया रहेकोले आफूलाई पार्टीले उम्मेदवारमा मनोनीत गरेकोमा खुशी व्यक्त गरे । उनले निर्वाचनमा आफना उम्मेदवारको जित निश्चित रहेको बताए ।

महिलाकी उम्मेदवार मदनकुमारीले संघीय लोकतन्त्रिक गणतन्त्रको सुदृढीकरण र रक्षाका लागि भएको बताइन् ।

‘लामो संघर्षपछि प्राप्त लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न चाहन्छौं र लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौँ’, उनले भनिन्, ‘त्यसका लागि हाम्रो गठबन्धन हो । गठबन्धनको विजयी सुनिश्चित छ । विजयी भएको घोषणा मात्र बाँकी छ । हामी सफल छौँ’, उनले प्रदेशसभा र स्थानीय तहमा गठबन्धनको बलियो उपस्थिति रहेकाले जित्नेमा ढुक्क रहेको बताइन् ।

No description available.

महिला सदस्यमै उम्मेदवारी दिएकी सन्तोष शर्मा थापाले राष्ट्रको हित र संरक्षणका लागि आफुले उम्मेदवारी दिएको बताइन् ।

दलित सदस्य जगतले मुलुकका समस्यालाई सभामा सशक्त रुपमा आवाज उठाउन आफुले उम्मेदवारी दिएको बताए ।

‘हाम्रा जाति, क्षेत्र र जनताका समस्यालाई राष्ट्रियसभामा सशक्त रुपमा उठाउनका निमित्त मेरो उम्मेदवारी हो’, उनले भने ।

दलित सदस्यमा उम्मेदवारी दिएका नरेशले पार्टीले लिएको मुलुकलाई समृद्ध र सुखी नेपालको अभिभारलाई पुरा गर्न उम्मेदवारी दिएको बताए ।

मंगलबार ३ बजेसम्म रहेको उम्मेदवारी दर्तामा गठबन्धन र एमालेबाहेक अन्य कुनै तर्फबाट उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनले मंगलबार नै उम्मेदवारको सूची सार्वजनिक गर्दै ‘दाबी विरोध कार्यक्रम’ अघि बढेको बताए ।

No description available.

बुधबार ४ बजेसम्म दाबी विरोध रहेको छ भने बिहीबार उजुरीउपर जाँचबुझ गर्ने कार्यतालिका रहेको छ । शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गर्ने र शनिबार उम्मेदवारी फिर्ता लिन चाहनेले उम्मेदवार फिर्ता गर्न सक्नेछन् भने आइतबार अन्तिम नामावली प्रकाशन गरिनेछ ।

‘अन्तिम नामावली प्रकाशन गरिएपछि सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ’ उनले भने ।

माघ १२ गते हुने मतदान कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा सचिवालयलाई मतदान केन्द्रका रुपमा राखेको छ ।

‘दुईवटा मतदान केन्द्र रहने सो स्थानमा छवटा मतपेटिका राखिनेछ’, उनले भने, ‘मतगणना पनि प्रदेशसभा सचिवालयमै गरिनेछ ।’

उम्मेदवारी दर्ता भएसँगै नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन रणनीतिक ढंगले अघि बढ्ने बताए ।

No description available.

‘स्थानीय तहको निर्वाचन हुँदा प्रदेशमा अंकगणितका हिसाबमा हामी बलियो थियौँ । अहिले पार्टी दुई धारमा गएपछि केही मतअन्तर होला’, उनले भने, ‘हामी प्रदेश सभामा कमजोर भए पनि गठबन्धनसँग प्रतिस्पर्धी बन्नेछौँ ।’

सुदूरपश्चिममा लागि १७५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभाका ५२ जना सदस्य मतदाता छन् । स्थानीय तहका एक मतदाताको मतभार १८ छ । यस्तै प्रदेशसभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १० जना, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय समाजवादी पार्टीका एक जना रहेका छन् ।

यस्तै स्थानीय तहमा नेपाली कांग्रेसबाट ३९ जना नगरप्रमुख तथा अध्यक्षमा निर्वाचित भएका थिए भने २९ जना उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै नेकपा एमालेबाट ३९ जना नगर प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका थिए भने उपप्रमुख तथा उपाध्यक्षमा ४३ जना निर्वाचित भएका थिए ।

माओवादी केन्द्रबाट १० जना नगरप्रमुख तथा अध्यक्षमा निर्वाचित भएका थिए भने ६ जना उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?