त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

बिभागीय टोली त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

किर्तीपुरस्थित टियू मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मी क्लबले प्रदेश नम्बर ५ लाई १५४ रनले हराउँदै अन्तिम दुईमा पुगेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रनको विशाल योगफल बनाएको थियो ।

आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे ।

सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरेका थिए । भीम सार्कीले ७७ रनको शानदार इनिङ खेलेका थिए । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे । कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाउन सफल भए ।

प्रदेश नम्बर ५ का लागी कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले समान १–१ विकेट लिए । २९० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश नम्बर पाँच ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निकालेको हो । प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले सर्बाधिक ३१ रन बनाए ।

कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे । त्यस्तै, शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए । बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोबले समान ३—३ विकेट, सागर पुनले २ तथा सोमपाल कामी र साहव आलमले पनि एक—एक विकेट बाँडे ।

खेलमा सागर पुन म्यान अफ द म्याच चुनिए । अब आर्मीले शनिबार हुने अर्का विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबविचको विजेतासँग उपाधीका लागी प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?