‘नेत्रविक्रम राष्ट्रघाती’ –गृहमन्त्री बादल

काठमाडौं । कुनै समय यस्तो पनि थियो– वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै लोटाको पानी खान्थे, एउटै ओछ्यानमा सुत्थे र एउटै लौरो बोकेर ओकाली ओराली गर्थे ।

करीव १२ वर्षे माओवादी जनयुद्धदेखिको यो घनिष्ट सम्वन्ध यतिखेर भने टाढिएको छ, बादल सरकारमा छन् भने चन्द अर्धभूमिगत शैलीमा जीवन विताइरहेका छन् । त्यो पनि एकले अर्कोलाई कसरी सिध्याउने योजनाका साथ ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बादलले नेत्रविक्रमको नाम नै उल्लेख गरी भने–अराजक र राष्ट्रघाती तत्व भनेको नेत्रविक्रम नै हो । विभिन्न ठाँउमा बम पड्काउने, प्रमुख निर्वाचन आयुक्तको निवासमा बम पड्काउने नेत्रविक्रम समूह हो ।

मन्त्री बादलले भने–देशमा विखण्डन, राजनीतिक अस्थिर्ता। अराजकता र राष्ट्रघाती कार्य तीन तत्व छन् । पहिलो–राजनीतिक परिवर्तनका नाममा नेत्रविक्रम समूह, दोस्रो स्वतन्त्र मधेसका नाममा देश टुक्र्याउन खोज्ने सिके लगायतको समूह र तेस्रो हिन्दु र क्रिश्चियम अतिबादी समूह ।

केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएको मौका छोपेर स्वतन्त्र मधेस लेखेको ब्यानार नै सार्वजनिक गरे मधेसका नाममा राजनीतिक दलाली गर्ने दलाल र अपराधिहरुलाई कारवाही गर्न सरकार सक्रिय छ मन्त्री बादलले थपे ।

त्यस्तैं, एउटा समूह धर्मपरिवर्तन गरी सन् २०२५ सम्ममा उपत्यकामा रहेका सम्पूर्ण मठमन्दिर भत्काइ चर्च बनाउन लागि पारेको छ । अर्को हिन्दु राज्य कायम गर्ने नाममा पूर्वराजालाई काँधमा बोकेर हिडिरहेको छ ।

मन्त्री बादलले यतिखेर यी तीन तत्व गृह प्रशासनका लागि चूनौतिका रुपमा देखापरेको बताए । यिनीहरुको आधार सबै कुरा हामीलाई थाह छ उनले भने यस्ता समूहलाई तह लगाएरै छोड्छौं ।
नेत्रविक्रम चन्द समूहले आर्थिक संकलनकै लागि सर्वसाधारणमा ‘टेरर’ फैलाउन यस्तो कानुन विपरित काम गर्ने गरेको आरोप पनि उनले लगाए ।

केही दिनअघि सात प्रदेशमा सम्पन्न सुरक्षा गोष्ठीमा उठेको विषयमा गृह प्रशासन सचेत र सम्वेदनशील छ भन्दै उनले सत्ता परिवर्तन, धर्म र स्वतन्त्रताका नाममा राष्ट्रघाती तत्व चलखेल गर्न सक्ने भएकाले सचेत हुन आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?