प्रधानमन्त्री कपमा आर्मी क्लब र प्रदेश नम्बर ५ सेमिफाइनलमा भिड्दै

प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट अन्तर्गत आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता त्रिभुवन आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी अहिलेसम्म अपराजित टोली हो । समूह ए बाट एपीएफलाई हराउँदै समूह विजेता बनेको आर्मीमा राष्ट्रिय टोलीका खेलाडीका साथै युवा खेलाडीको बाहुल्यता छ । त्यस्तै राष्ट्रिय टोलीका भेट्रान बलर शक्ति गौचनको नेतृत्वमा रहेको प्रदेश नम्बर ५ मा प्रदेशका प्रतिभावान युवा खेलाडीहरुको सहभागिता छ ।

प्रदेश ५ ले समूहमा एउटा पराजय ब्यहोरेको थियो । पुलिससँग पराजित भएको प्रदेश ५ ले दुई खेल जितेको थियो भने एउटा खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडेको थियो । शनिबार दोस्रो सेमिफाइनलमा दुई बिभागीय टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र नेपाल पुलिसको खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

पहिलो पटक संघीय संरचना अनुसार खेलाइएको प्रतियोगितामा पुलिस, आर्मी र एपीएफ गरी तीन बिभागीय टोलीका साथै सात प्रदेशका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता टोलीले २ लाख पुरस्कार पाउनेछ भने  उपविजेताले १० लाख नगद रुपैया पाउनेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?