धेरै नेताले राजपा ध्वस्त हुने चिन्ता

काठमाडौं । राष्ट्रिय जनता पार्टी धेरै नेताहरूको गतिविधिले कतै ध्वस्त त हुने होइन भन्ने चिन्ता कतिपय नेताहरूमा देखिएको छ । पार्टीले थरी थरी धारणा अभिव्यक्त गरिरहँदा भ्रमण सिर्जना हुन थालेको ती  नेताहरूको बुझाई छ । हालै मात्रै एक नेताले प्रदेश नम्बर २ को गठबन्धन सरकारबाट राजपा फिर्ता हुने भनेपछि राजपा अध्यक्ष मण्डलका नेताहरू असन्तुष्ट हुन पुगे । तर राजपाको अध्यक्ष मण्डलका नेताहरूले समयमा राजनीतिक निर्णय गर्न नसक्ने भएपछि संघीय समाजवादी फोरमले बाजी मार्दै गएकोमा कतिपय नेताहरूको कथन छ ।

नाम नखुलाउने शर्तमा एक नेता भन्छन् “मधेशमा भनिन्छ “बेसी महन्थ मठ उजार”(मन्दिरमा महन्थ धेरै भए मन्दिर ध्वस्त) हुन्छ । कतै राजपाको स्थिति त्यही त हुने छैन् ।”

मधेशमा आन्दोलन भयो । आन्दोलनबाट पार्टी स्थापित भए । पार्टीको टुटफुटको सिलसिला बढयो । यसबाट पार्टी बनाउने र कब्जा गर्ने कसरत मधेशवादी नेताहरूमा बढे र पार्टीहरू बन्दै गए ।

नेताहरू मन्त्री हुँदै गए । जब संविधान सभाबाट संविधान घोषण भयो र निर्वाचनमा देश होमियो । मधेशवादी दलहरूले  धरातलको खोजी गर्दा टेक्न गाह्रो हुँदा ६ पार्टी एक बनेर राष्ट्रिय जनता पार्टी भए । अन्य कतिपय पार्टीका नेताहरू अन्यत्र लाखापाखा लागे । यसअघि नै पूर्व एमाले नेता अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग मधेशी जनअधिकार फोरम मिलेर संघीय समाजवादी फोरम बनाइसकेका थिए ।

तर पनि मधेश नै आधार क्षेत्र भएकाले राजपा र फोरम दुबैले चुनावी गठबन्धन बनाएर चुनाव लडेर चौथो पाँचौ पार्टी बनेर आए । झन् नेकपा गठन भएयता त राजापा तेस्रो र फोरम चौथो पार्टी बन्न पुग्यो ।

राजपा बनाउँदा हामी सबै मिल्यौं भनियो तर अध्यक्ष सवेसर्वा कसैलाई नदिने राजनीति गरियो । अध्यक्ष मण्डल बनाएर महाधिवेशनसम्म जाने निर्णय गरियो । निर्वाचन आयोगलाई महाधिवेशन गर्ने भाका दिइयो । तर महाधिवेश गरिएन् । अहिले आएर निर्वाचन आयोगले पत्र नै काटेर पार्टीलाई सचेत गराइसकेको छ ।

स्रोत भन्छ “आयोगले काटेको पत्र नै पार्टी भित्र समस्या आयो भने होइन । समस्या भनेको महन्थका अगाडि कोही नबोल्ने र महन्थ अरूका अगाडि नबोल्ने समस्या हो । यो समस्या एकीकरण हुने बेलामै पार्टीमा थोपरियो । सामूहिक पद्धतिबाट जाने भनियो तर त्यसको अभ्यास गरेका नेता कोही पनि रहेनन् ।”

ती नेता भन्छन् – पार्टीमा सरकारमा सहभागी हुने प्रस्ताव आयो तर यसलाई कसरी राजनीतिक रूपमा समाधान गर्न सकिएन् ।”

उनी भन्छन् – पार्टीलाई सभामुखको पद र केही थान मन्त्री दिन्छु त भनेकै हो नी ?तर त्यसमा पहल गरिएन ।”

अर्को कुरो महन्थ ठाकुर सिनियर भन्ने तर उनलाई खुला जिम्मेवारी सम्म नदिने खालका नेताहरू भए । यसैलाई भनिन्छ “बेसी महन्थ मठ उजार।”

यसैबीच राजेन्द्र महतो नजिक मानिएका प्रदेश सभा सांसद मनिष सुमनले फोरमको नेतृत्वबाट राजाप निस्कने अभिव्यक्ति दिए । अध्यक्ष मण्डलमा खैलाबैला मच्यो । पार्टीलाई यसको खण्डन गर्न प¥यो र विज्ञप्ति निकाल्यो र भन्यो – राजपाको समर्थन फोरमलाई कायमै ।”

साथै त्यो विज्ञप्तिले पार्टीमा सबै महन्थ बन्न खोजेको प्रवृतिउपर लगाम लगाउन खोजेको देखायो । विज्ञप्तिमा भनियो—पार्टी अध्यक्ष मण्डलको आजको बैठकले प्रदेश नं. २ को सरकारका विरुद्ध कुनै पनि प्रकारले टिप्पणी नगर्न सम्पूर्ण पार्टी पंतिलाई निर्देशित गर्दै मा. लालबाबु राउतको नेतृत्वको राजपा नेपाल सम्मिलित सरकारलाई राजपा नेपालको समर्थन, सहयोग र सहभागीता निरन्तर रहने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई यसै विज्ञप्ति मार्पmत जानकारी गराइन्छ ।”

पार्टी भित्र महन्थ हुन खोज्ने प्रवृतिका नेताहरूले पार्टी ध्वस्त पार्ने चिन्ताका साथै फोरमको चालबाजी पनि कारक बन्दै गएकोमा चिन्ता व्यक्त गरी प्रदेश सभाका सदस्य तथा राजापा महासचिव सुमनले सरकारबाट हटने अभिव्यक्ति दिएको स्रोतको बुझाइ छ ।

राजपाका नेताहरूको ठेकान नै नभएको बुझाइ फोरम अध्यक्ष उपेन्द्र यादवको रहेको पाइन्छ । उनी भन्छन् –राजपाका ६ नेताका मुख ६ तिर फर्केको हुन्छ ।”

यो भनाइसँग राजपाका नेताहरू पनि सहमत देखिन्छन् । तर उपेन्द्र एक्लै सरकारमा जाने निर्णय गरेकोमा राजपाका नेताहरू असहमत छन् ।

राजपाका उपाध्यक्ष सत्यनाराण मण्डल भन्छन् –उपेन्द्रजीको यो एकल निर्णय हो । तर यसमा हामी केही भन्न पनि सक्दैनौ । र पनि प्रदेश सरकारलाई समर्थन गरिरहन्छौं ।”

राजपाले प्रदेश नम्बर २को सरकार गठनलाई विज्ञप्ति मार्फत यसरी व्याख्या गरेको छ – “मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना एवं मधेशी जनताको जनादेश समेतलाई ध्यानमा राख्दै विविध उत्तार चढाव र परिस्थितिका बीच राजपा नेपालले प्रदेश नं. २ मा माननीय लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन गर्दै त्यस सरकारमा सहभागी भएर अगाडी बढने निर्णय गरेको हो ।”

यो विषयमा फोरमका महासचिव रामसहाय यादव भन्छन् “प्रदेश नम्बर २मा सरकार फोरम राजापको रहन्छ । हामीले संघीय सरकारमा जान प्रदेश सरकार तिमीलाई दिन्छौ भनेर सहमति गरेका होइनौं ।”

राजपाको आजबाट राजनीति समतिको बैठक बसिरहेको छ । बैठकमा यी विषयहरूमा गम्भीर छलफल भइ निक्यौंलमा पुग्ने नेताहरूको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?