त्रिपालमुनि कठ्याङ्ग्रिँदै भुकलीहरू : शीतलहरबाट बचाउन छैन पूर्वतयारी

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा बढेको छ ।

तर, कैलालीको भजनी नगरपालिका वडा नम्बर ५, लालबोझी ७० वर्षीया भुकली डंगौरा एउटा सानो त्रिपालभित्र कठ्याङ्ग्रिएर बसेकी छिन् ।

गत कार्तिकको १ र २ गते आएको भारी वर्षाले उनको घरबास बगायो । घरबारविहीन भएपछि उनलाई नगरपालिकाले त्रिपाल सहयोग गर्‍यो । त्यो बेलादेखि उनी त्यही त्रिपालभित्रै गुजारा गरिरहेकी छिन् ।

उदास भावमा उनले भनिन्, ‘नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा यही त्रिपाल पाएकी हुँ । चिसो बढेको छ । सडकमा सुत्न बाध्य छु ।’

मंगलबार रातिदेखि सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा वर्षा भएको छ । तराईमा शीतलहर र बाक्लो कुहिरो लागेको छ । चिसो अत्यधिक बढेको छ । घरबारविहीन भएका भुकलीहरू त्रिपालमुनि चिसोले थरथर काप्दै दिन काटिरहेका छन् ।

No description available.

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बिहीबारदेखि बाक्लो हुस्सु लागिरहेको छ । शीतलहर चलिरहेको छ । विपन्न वर्गमाथि थप कष्ट थपिएको छ ।

चिसोबाट आम नागरिकलाई सुरक्षित राख्न भने प्रदेश र स्थानीय सरकारहरूले अहिलेसम्म कुनै ठोस योजना तथा कार्यक्रम ल्याएका छैनन् ।

‘शीतलहर र अत्यधिक चिसोबाट आममानिसलाई सुरक्षित राख्न सामाजिक विकास मन्त्रालयमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ’, सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्, ‘अहिले मन्त्रालयले सो कार्यक्रमलाई अघि बढाएको छ वा छैन भन्ने मैले जानकारी लिन पाएको छैन ।’

मन्त्री जोशीले अहिलेसम्म शीतलहरबाट यस प्रदेशमा कति जना प्रत्यक्ष रुपमा प्रभावित भएको बारे आफूसँग जानकारी नआएको बताइन् ।

No description available.

विशेषतः मुक्तकमैया शिविर, बाढी तथा पहिरोबाट विस्थापित परिवार अहिले चिसोबाट प्रभावित भए पनि उनीहरूको विषयमा भने कुनै पनि सरकार गम्भीर बन्न नसकेको सरोकारवालाहरू बताउँछन् ।

‘विपत् आएका बेला प्रभावित परिवारलाई राहत तथा विभिन्न सामग्री प्रदान गरिन्छ । जब घटना सामान्य बन्दै जान्छ उनीहरूको उचित बसोबास पनि भएको हुँदैन । अन्य विपत्बाट हुनसक्ने क्षतिको आकलन पनि गरिँदैन’, विपद क्षेत्रमा काम गरिसकेका नेकपा एमाले प्रदेश सचिव धर्मराज पाठकले भने ।

विगतका वर्षहरूमा स्थानीय तहहरूले चोक–चोकमा आगो बाल्नका लागि दाउरा वितरण, विपन्न असहाय परिवार तथा व्यक्तिलाई न्यानो कपडा वितरण गर्नेलगायतका कार्यक्रम गर्दै आएका थिए ।

स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि सो कार्यक्रमले निरन्तरता पाएको थियो । तर, कोभिड–१९ को महामारीसँगै जारी निषेधाज्ञापछि दुई वर्षयता स्थानीय तहहरूले चोकचोकमा दाउरा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छैनन् ।

एमाले प्रदेश सचिव पाठकले विपदबाट हुने क्षति न्यूनीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरू गम्भीर नभएको बताए । उनले तत्काल सरकारहरूले शीतलहरबाट नागरिकलाई बचाउन गम्भीर हुुनुपर्ने सुझाव दिए ।

No description available.

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अध्यक्षतामा रहेको प्रदेश विपत् व्यवस्थापन समितिको बैठक पनि समयानुकूल बस्न सकेको छैन । प्रदेश सरकारले बनाएको प्रदेश विपत् व्यवस्थापन ऐनमा भनिएको छ, ‘समितिको बैठक प्रत्येक छ महिनाको अन्तरमा दुई पटक अनिवार्य तथा आवश्यकताअनुसार अध्यक्षले बैठक आह्वान गर्न सक्नेछन् ।’

अहिले शीतलहरका कारण प्रदेशमा चिसोले जनजिवन प्रभावित भए पनि क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले तयारी अघि बढाउन सकेको छैन । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले प्रदेशका मुख्यमन्त्री भट्ट काठमाडौँमा छन् ।

‘मुख्यमन्त्री नभएपछि बैठक बोलाउन सम्भव छैन’, मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?