यसकारण कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम अन्यौलमा

युवराज पंगाली
सुर्खेत–शुक्रवार कर्णाली प्रदेश सरकारले सार्वजनिक गर्ने भनिएको आर्थिक बर्ष २०७५ ÷ ०७६ को नीति तथा कार्यक्रम अन्यौलमा पर्ने देखिएको छ ।

शुक्रवार ३ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएपनि विहीवारको सदन अवरुद्धले नीति तथा कार्यक्रम अन्यौलमा परेको हो । प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षले उठाएको प्रश्नहरुको चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

यसैबिच, कर्णाली प्रदेशसभा बैठक विहीवार अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार र संसदको काम कारवाहीप्रति असहमति जनाउँदै पहिलोपटक बैठक अवरुद्ध पारेका हो ।
बैठक अवरुद्ध भएपछि सुरुमा आधा घन्टाको लागि स्थगित गरिएको बैठक अन्ततः सचिवालयले सुचना जारी गरी शुक्रवार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेशसभाको दोस्रो अधिवेशनको मंगलवारको ९ औं बैठकमा कांग्रेस सांसदहरुले प्रदेश सरकार र प्रदेशभाको काम कारबाहीप्रति कडा आपत्ति जनाएका थिए ।

बैठक सुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकार र संसदको कामकारबाहीप्रति आलोचना गरे ।

उनले कालिकोटमा मना सार्कीको हत्या वा मृत्यु के हो सो घटनाको सत्थ्यतथ्य सार्वजनिक गर्न माग गरे ।

यसपछि काठमाडौंमा सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरु जर्सि विना सहभागी भएकोमा दुःख प्रकट गर्दै कर्णाली प्रदेशको बेइज्जत भएको उल्लेख गरे ।
प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७४÷ ०७५ को तीन महिने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नसकेको विषय उनले उठाए ।

सभामुख राजबहादुर शाहीले संसदमा उठेका विषयमाथि सम्बन्धित पक्षसंग छलफल गरी समाधान गरिने भन्दै बस्न पटक पटक आग्रह गरेपनि कांग्रेस सदस्यहरुले नबसेपछि बैठक आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

तर बिहीवार साँझ प्रदेशसभा सचिवालयले बैठक आधा घन्टा स्थगित भनिएपनि शुक्रवार तीन बजेसम्मका लागि स्थगित गरिएको सुचना निकालेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?