मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गर्नुभएको छ ।
मन्त्री मगरले आज परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधानका लागि आग्रह गर्नुभएको हो । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीव्रता नदिएपछि इटालीको सरकारसँग कूटनीतिक पहल गर्न अनुरोध गरिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो ।
गत चैत २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने भनी ठेकेदारको प्रतिबद्धता आएको थियो । ठेकेदार कम्पनीले आगामी भदौ १५ भित्र आयोजना सम्पन्न गर्ने र सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजना बनाएको थियो । ठेकेदार कम्पनीले माग दावी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकाले उक्त विषयलाई नजोडी उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति व्यक्त गरे पनि नियतवश काम नगरेको पाइएको सचिव बिसीको भनाइ छ ।
इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिई काम शुरु गरेको थियो । कम्पनीको ठेक्काको म्याद गत वैशाख ३१ गते नै सकिसकेको छ । आयोजनाको मुख्य कामे सुरुङ बने पनि सुरुङभित्रको अरु काम बाँकी छ । ठेकेदारले कार्ययोजनानुरुप आफ्नो पूर्ण क्षमतामा काम गरेमा आगामी भदौ १५ गतेभित्र काठमाडौँमा पानी ल्याउन सकिने सम्भावना अझै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया