‘फ्ल्यास ब्याक’ : यस्तो रह्यो २०२१

काठमाडौं । आज सन् २०२२ को पहिलो दिन । अर्थात् अंग्रेजी नयाँ वर्ष । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण सन् २०२० लाई हालसम्मकै खराब वर्षको रूपमा मानिन्छ ।

सोही वर्षजस्तै यो वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट अछुतो रहन सकेन । अझ डेल्टा र ओमिक्रोनजस्ता नयाँ भेरियन्टको सन्त्रास खेप्नु पर्‍यो ।

सन् २०२१ मा सामान्य र असामान्य थुप्रै घटनाहरू घटे । सकारात्मक एवं नकारात्मक थुप्रै परिवर्तनहरू भए । स्वास्थ्य, राजनीति, खेलकुद, मनोरञ्जन, वातावरण, पर्यटनलगायतका क्षेत्रका थुपै्र उतारचढावहरू आए । यहाँ तिनै घटनाक्रमबारे केही चर्चा गरिएको छ ।

कोभिड–१९ को खोप

यस वर्ष कोभिड–१९ को खोप साहसिक रफ्तारमा विकास गरिएको छ । ऐतिहासिक रूपमा खोप विकास गर्न १० देखि ५० वर्ष लाग्ने गरेको छ । कोभिड–१९ को खोप भने एक वर्षभन्दा कम अवधिमा विकास गरिएको छ । कोभिड–१९ को यो खोपले अत्यन्त प्रभावकारी रूपमा काम पनि गरेको छ ।

फाइजर र मोडर्ना खोप दुवै सुरुका कोभिड–१९ भेरियन्टमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएका छन् ।

सन् २०२१ का सुरुका ११ महिनामा मात्रै १ सय ८४ मुलुकमा ७.४ अर्बभन्दा बढी डोज पठाइसकिएको छ । जसमा ७० मुलुकले चन्दा वा सहयोगको रूपमा उपलव्ध गराएका छन् । नेपालमा खोप अभियान सुरु भएयता २ करोड ४४ लाख २१ हजार ५ सय १२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाए ।

जलवायु परिवर्तन

विश्वव्यापी अर्थतन्त्र चलायमान भएसँगै २०२१ मा कार्बन प्रदूषण ह्वात्तै बढ्यो ।

तातो बनाउने ग्याँसबाट आउने प्रदूूषण नघटेमा मानवले विनाशकारी जलवायुु परिवर्तनको सामना गर्नुपर्नेछ ।

यसै वर्ष अमेरिकाको दक्षिण–पश्चिममा खडेरी लाग्यो । बेल्जियम र पश्चिम जर्मनीमा बाढीले विनासकारी रूप लियो । ग्रीसको जंगलमा आगलागी भयो । ढिलो गरी आएको मनसुनले भारत र नेपाललाई तहस नहस बनायो ।

राजनीतिक परिवर्तन

सन् २०२१ मा देशका अधिकांश ठूला दलहरूको महाधिवेशन सम्पन्न भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको १३औँ महाधिवेशनले शेरबहादुर देउवालाई पुनः अध्यक्ष पदमा निर्वाचित ग¥यो ।

यस्तै नेकपा एमालेको चितवनमा सम्पन्न १०औँ महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष पदमा पुनः निर्वाचित गर्‍यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा सम्पन्न महाधिवेशनले भने युवा पुस्ताका नेता राजेन्द्र लिंदेललाई नयाँ नेतृत्वमा ल्यायो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहले एमाले फुटाएर नयाँ पार्टी ‘नेकपा एकीकृत समाजवादी पार्टी’ दर्ता गरे । यसले सरकार परिवर्तन भएर प्रमुख प्रतिपक्षी दलमा रहेको नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको सहयोगमा सरकार गठन ग¥यो । यो गठबन्धनले शेरबहादुर देउवालाई पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त ग¥यो ।

खेलकुद

अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक पुबुदु दासनायेकेलाई पुनः नियुक्त गर्‍यो ।

श्रीलंका क्रिकेट टोलीका पूर्वखेलाडी समेत रहेका पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि—२० विश्वकप खेलाउने प्रशिक्षक हुन् ।

नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तान र उपकप्तानलाई अनुशासनको कारबाही गरेर निलम्बन पनि गर्‍यो । जसका कारण राष्ट्रिय टिममा चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई नयाँ कप्तानको रूपमा नियुक्त गर्‍यो ।

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि—२० ग्लोबल विश्वकप छनोट ‘ए’मा दसानायकेलाई सन्तुलित टिम बनाएर सफलता हात पार्ने चुनौती देखिएको छ ।

गत वर्ष बंगलादेशको ढाकामा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिको रक्षा गर्न महिला भलिबल टोली सफल भयो ।
यसै वर्ष जापानको टोकियोमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा नेपालले सहभागिता जनायो । उक्त प्रतियोगितामा नेपालले सहभागिता गरेको एथ्लेटिक्स, स्वीमिङ, सुटिङमा आफ्नो व्यक्तिगत कीर्तिमान सुधार गर्नुबाहेक कुनै उपलब्धि हासिल गरेन ।

मनोरञ्जन

नेपालको मनोरञ्जन क्षेत्रलाई सन् २०२१ मा पनि कोरोनाले प्रभावित गर्‍यो । यो वर्ष पनि केही अपवादबाहेक चलचित्रहरु निर्माण र प्रदर्शन भएनन् । गीतसंगीत र म्युजिक भिडियो भने आउनेक्रममा खासै परिवर्तन भएन । प्रशस्तै गीतका भिडियोहरु बजारमा आउनुका साथै केहीले राम्रो आम्दानी समेत गरे ।

कोरोना महामारीको अनुकुलता हेरेर बलिउड र हलिउडका केही चलचित्रहरू सिनेमा घरमा प्रदर्शन भए । जसले उल्लेखनीय लोकप्रियता हासिल गरे ।

पर्यटन व्यवसाय

कोरोनाका कारण ठप्प रहेको पर्यटन व्यवसाय पुनः सुचारु भयो । कारोना भाइरसको त्रास कम हुँदै गएपछि पर्यटन व्यवसायीहरू आशावादी भए । नेपालमा विदेशी पर्यटन आगमनको संख्या यो वर्ष कोभिडपछिका वर्षकै उच्च रह्यो । तर बिस्तारै पहिलेकै लयमा फर्किन लागेको पर्यटन व्यवसायमा पुनः कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासमा पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?