काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् ।
शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन् । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए । सीईको रेग्मीकै कारण आफ्नो बेइज्जत भएको पनि आलेको भनाइ छ ।
लन्डन जाँदाको टिकटबारे पनि अनावश्यक विवाद निकालिएको पनि उनको भनाइ छ । ‘यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लन्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो,’ उनले भने ।
त्यस्तै उनले बोर्डका उच्च अधिकारीबाटै आफूलाई प्रलोभन देखाइए पनि त्यसमा आफू नपर्ने बताए । ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । पहिलाको मन्त्री जस्तो ठानेको होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चेयरमा बस्नेवाला छैन ।’
मन्त्री आलेले डब्लूटीएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया