नेपाली टोपी अनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

आज अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२२ को पहिलो दिन । तर पछिल्लो केही वर्षयता यो दिन नयाँ वर्षका कुराभन्दा पनि बढी नेपाली टोपीले सामाजिक सञ्जाल भरिभराउ हुन्छन् ।

के महिला के पुरुष, बालबालिकादेखि उमेर ढल्केकाहरु समेतले नेपाली ढाका या भातगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा फोटोहरु अपलोड गरिरहेका हुन्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत र अन्य सामाजिक सञ्जाल सबै टोपीमय भएको देख्न सकिन्छ ।

No description available.

 

घरमा टोपी नभएका र टोपी लगाएको फोटो नहुनेहरु पनि हतार हतार साथीसँग नभए किनेरै भए पनि टोपीसहितको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्न हतार देखिन्छन् ।

झट्ट हेर्दा देखासिकी र फेसनजस्तो लागे पनि नेपाली टोपीको प्रचार र महत्व भने झल्केको छ । यसले नयाँ पुस्तालाई समेत नेपाली टोपीप्रति आकर्षित र लगाउनुपर्छ भन्ने कुरामा सचेत समेत गराएको छ ।

टोपीको इतिहास र महत्व

विशेषतः ढाकाटोपीलाई नेपालको चिनारीका लिइन्छ । यसको आफ्नै मौलिक पहिचान र महत्व छ ।

संस्कृतविदका अनुसार यो टोपीको डिजाइन नेपालमै भएको । जंगबहादुर राणाका पालामा उनका बहिनी डम्बरकुरमारी राणाले आफ्नो दाजुलाई खुसी पार्नका लागि यो टोपी बनाएर उपहार दिएको बताइन्छ ।

ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेगको प्रतिनिधित्व गरेको छ भने बीचको भिरालो भागले पहाड र तलको भागले समथर तराईलाई चिनाएको छ । यसर्थ पनि यी टोपीहरुको महत्व धेरै छ ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

यसरी मनाइँदैछ पाँचाैं अन्तर्राष्ट्रिय नेपाली टाेपी दिवस! | Suvadin !

नेपाली टोपी सदियौँदेखि प्रचलनमा छन, जुन समग्र नेपालको पहिचान बन्दै आएको छ । यो टोपीलाई न मौसमअनुसार लगाइन्छ न त कुनै अवसर विशेष पारेर लगाइन्छ । भारी बोक्नलाई होस् अथवा औपचारिक कार्यक्रममा यो टोपी नेपालीको शिरमा यो टोपी सदाबहार रुपमा सजिएको हुन्छ ।

विशेषतः भादगाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । किनकी यी टोपी आम विश्व समुदायमाझ नेपालीको चिनारी बन्न पुगेको छ । तराईका यादव समुदायदेखि हिमालका शेर्पा दाजुभाइ समेतले यो टोपीलाई सहर्ष स्वीकार गर्दै आएका छन् ।

क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्वु, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरण हो ।

अर्काे कुरा टोपीको बनोटले नै हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्ने संस्कृतविदहरुले बताउँदै आएका छन् । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा लिइन्छ । नेपाली टोपीले नेपालीको शिर मात्र ढाकेको छैन जसले समग्र नेपालको शिर उच्च बनाउँदै आएको छ ।

यसरी सुरु भयो टोपी दिवस

टोपी दिवसको सुरुवाताको कुरा गर्दा जागरुक युवा अभियान नेपालको कुरा आाउँछ । उनीहरुकै टिमको अभियानले नै यसको सुरुवात गरेर यहाँसम्म ल्याएको पाउन सकिन्छ ।

पश्चिमा संस्कृतिको अनुसरण गर्दै अंग्रेजी नयाँवर्षलाई भव्यताका साथ मनाइरहँदाको बिझाइले यो अभियान जन्मिएको हो । त्यसैले नेपाली मौलिकपन झल्किने गरेर अंग्रेजी नयाँ वर्ष मनाउने अभिप्रायले यो अभियान सुरु गरेको यस अभियानका संस्थापक अभियान्ता रामजी बलामी बताउँछन् ।

No description available.

सुरुका दिनहरुमा राम्रा नराम्रा धेरै प्रतिक्रियाहरु आए पनि बिस्तारै यसले विशेष आकार प्राप्त गर्दै छ । जागरुक युुवा अभियान नेपालमा आबद्ध युवाहरुले हरेक वर्ष यसलाई विशेष रुपमा मनाउँदै आएका छन् ।

त्यसैगरी नेपाली टोपी प्रतिष्ठानले पनि हरेक वर्ष यसलाई मनाउँदै र मनाउन आग्रह गर्दै आएको छ । यस वर्ष पनि सबैलाई टोपी दिवस भव्यताका साथ मनाउन आग्रह गरेको छ ।

प्रतिष्ठानले ‘नेपाली टोपी : हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’ भन्ने नारासहित नवौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छ ।

उसले भनेको छ, ‘नवौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाऔँ, जनवरी १ का दिन अवस्था र स्थानअनुसार नेपाली टोपी लगाऔँ ।’

दिवसका बारेमा जागरुक युवा अभियान नेपालको धारणा :

अभियान कसरी र किन सुरु भयो भन्ने सवालमा जागरुक युवा अभियान नेपालले प्रेस विज्ञप्ति जारी गरेको छ ।

त्यसमा भनेको छ, ‘सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएका छौँ ।’

No description available.

त्यस्तै ‘विश्वमा हरेक मुलुकको आ–आप्mनो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँ । त्यसका लागि हामीले विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ । जसमध्ये हरेक अंग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने हाम्रो मुख्य अभियान हो’, विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी युवा अभियान नेपालले विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

No description available.

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ रहेका थुप्रै जातीय टोपीहरूको पनि संरक्षण र प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने कुरा विज्ञप्तिमा उल्लेख छ ।

नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सोसल मिडियाको भरपुर सदुपयोग गरी नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरूमा राखेर #Nepali_Pahichan ह्यासट्याग लगाउन समेत आग्रह गरेको छ ।

जागरुक युवा अभियान नेपालको उद्देश्य नेपाली टोपीलाई बचाउँदै जनवरी १ लाई नै टोपी दिवसको रुपमा सधैं मनाउने वातावरण मिलाउन सकियोस् भन्नु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?