यी रंगशालामा हुँदैछन् फिफा विश्वकप, कुन रंगशालाको कति दर्शक क्षमता ?

फिफा विश्वकप फुटबल २०१८ सुरु हुन एक साता मात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्येक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ सिक्सटिन् मा प्रवेश गर्नेछन् । प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् । ३२ टिमबीच ६४ खेल हुनेछ । ६४ खेल रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा हुनेछ । एक महिनासम्म हुने विश्वकपका १२ रंगशालाहरु यस्ता छन् । 

लुज्निकी रंगशाला, मस्को

मस्कोमा अवस्थित यो रंगशालामा आयोजक राष्ट्र रुष र साउदी अरेबियाबीच उद्घाटन खेल हुनेछ ।

८० हजार दर्शक क्षमता भएको यो रंगशालामा फाइनल खेल पनि सञ्चालन हुनेछ । यो मैदानमा विश्वकप २०१८ उद्घाटन र फाइनल खेलसहित ७ खेल हुनेछन् ।

समूह “एफ” मा रहेको जर्मनी र मेक्सिको, “बि” मा रहेको पोर्चुगल र मोरक्को तथा “सि” मा रहेको डेनमार्क र फ्रान्सको पनि लुज्निकी रंगशालामा नै खेल हुनेछन् । 

सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग

यो रंगशालामा पनि सर्बाधिक ७ खेल सञ्चालन हुनेछन् ।

६८ हजार दर्शक क्षमता रहेको सेन्ट पिटर्सवर्ग रंगशालामा समूह चरणको ४ खेल, प्रि—क्वाटरफाइनल, सेमिफाइनल र थर्ड प्लेसको खेलहरु हुनेछन् ।

१.१ बिलियन डलर निर्माण खर्च भएको रंगशालाको गत वर्ष उद्घाटन भएको थियो । यो मैदानमा गत वर्षको कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल भएको थियो । 

फिस्ट ओलम्पिक रंगशाला, सोची

सोची सहरमा अवस्थित फिस्ट ओलम्पिक रंगशालामा विश्वकपका ६ खेल सञ्चालन हुनेछन् ।

यो रंगशालामा समुह चरणको ४ खेल, प्रि—क्वाटरफाइनल र क्वाटरफाइनलका खेल हुनेछन् । ४८ हजार दर्शक क्षमता रहेको यो रंगशाला सन् २०१४ को विन्टर ओलम्पिकका लागि निर्माण गरिएको हो ।

सोची ओलम्पिकको उद्घाटन र समापन समारोह यसै रंगशालामा भएको थियो । 

एकाटेरिङवर्ग एरेना, एकाटेरिङवर्ग 

सन् १९५७ मा निर्माण गरिएको यो रंगशाला एकाटेरिङवर्ग सहरमा अबस्थित छ ।

४५ हजार दर्शक क्षमता रहेको यो रंगशालामा समुह चरणको ४ खेलमात्र खेलाइनेछ । सन् २०१४ देखि पुनर्निर्माण थालिएको यो रंगशाला सन् २०१७ पछि सन्चालनमा ल्याइएको हो । 

काजन एरेना, काजन

४५ हजार दर्शक क्षमता भएको यो रंगशाला काजन सहरमा अवस्थित काजन एरेना रंगशाला हो ।

यो रंगशालामा पनि क्वार्टफाइनलका एक खेलसहित ६ खेल हुनेछन् । सन् २०१० मा निर्माण सुरु गरेर २०१३ मा सकिएको रंगशालाको लागत ४ सय ५० मिलियन डलर रहेको छ । 

निज्नी नोवगोरोड रंगशाला, निज्नी नोवगोरोड

४४ हजार ८ सय दर्शक क्षमता रहेको यो रंगशाला निज्नी नोवगोरोड सहरमा अवस्थित छ ।

यो रंगशालामा एक प्रि—क्वार्टफाइनल खेलसहित ५ खेल सञ्चान हुनेछन् । सन् २०१५ मा निर्माण थालिएको रंगशाला यही वर्ष तयार भएको हो । 

रोस्टोभ एरेना, रोस्टोभ

विश्वकपका प्रि—क्वार्टरफाइनलका एक खेलसहित ५ खेल सञ्चालन हुने यो रंगशाला रोस्टोभ सहरमा अबस्थित छ ।

३७ हजार दर्शक क्षमता रहेको यो रंगशाला सन् २०१४ मा निर्माण  गरिएको थियो । 

सामरा एरेना, सामरा 

सामरा एरेनामा विश्वकपका ६ खेल सञ्चालन हुनेछन् ।

जसमा एक क्वार्टरफाइनलको खेल पनि सञ्चालन हुनेछ । रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१४ मा निर्माण सुरु भएको रंगशाला यही महिना तयार भएको हो ।

रंगशाला निर्माणमा ३ सय २० मिलियन डलर खर्च भएको थियो । 

मार्डोभिया एरेना, सारान्सक

मार्डोभिया एरेनामा विश्वकपका ४ खेल सञ्चालन हुनेछन् ।

समूह चरणका ४ खेल मात्र सञ्चालन हुने यो रंगशालाको ४४ हजार दर्शक क्षमता रहेको छ । सन् २०१० मा निर्माण सुरु गरिएको मैदान अप्रिल २०१८ मा सकिएको थियो । मैदान निर्माणका लागि ३ सय मिलियन डलर खर्च भएको थियो । 

भाल्गोगार्ड रंगशाला, भाल्गोगार्ड

सन् २०१५ मा निर्माण सुरु गरिएको यो रंगशाला यसैवर्षबाट सञ्चालनमा आउदैछ ।

समुह चरणको ४ खेलमात्र हुने यो रंगशालाको ४५ हजार दर्शक क्षमता रहेको छ । 

स्पार्टक रंगशाला, मस्को

सन् २०१४ औपचारिक उद्घघाटन गरिएको यो रंगशालामा समुह चरणको ४ खेल र प्रि—क्वाटरफाइनलका खेलहरु हुनेछन् ।

४२ हजार दर्शक क्षमता रहेको यो रंगशाला रसियन क्लब स्पार्टक मस्कोको घरेलु मैदान हो । सन् १९२२ मा निर्माण गरिएको मैदान सन् २०१० मा पुनर्निर्माण गरिएको थियो । सन् २०१४ देखि थियो।

किलिनिङगार्ड रंगशाला, किलिनिङगार्ड

किलिनिङगार्ड सहरको यो रंगशालाको दर्शक क्षमता ३५ हजार भन्दा बढी रहेको छ ।

यो रंगशालामा विश्वकपका समूह चरणका ४ खेल हुनेछन् । सन् २०१६ मा निर्माण सुरु गरिएको यो मैदान निर्माणको लागि २ सय ५७ मिलियन युरो खर्च लागेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?